मेस्सीले प्रिमियर लिगमा खेल्न सक्दैनन् भन्नेले आँखा खोलेर हेर्नुहोस् [भिडियो सहित]

लियोनल मेस्सीले क्लबका लागि पहिलो गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-० ले पराजित गर्दै समूह ए को शीर्ष स्थानमा उक्लिएको छ।

खेलको ७४ औं मिनेटमा किलियन एम्बाप्पेसँग सुन्दर तरिकाले वान-टु खेल्दै अर्जेन्टिनी कप्तानले २० यार्डबाट आकर्षक गोल गर्दै इद्रिसा गानाले दिएको अग्रतालाई दोब्बर पारेका थिए। खेलपछि मेस्सीले भने,”गोल गरेकोमा निकै खुसी छु। अहिलेसम्म मैले क्लबका लागि पर्याप्त समय खेल्न सकेको थिएन। यो मैदानमा मेरो यो मात्र दोस्रो गोल हो।” नयाँ टोलीमा घुलमिल हुन समय लाग्ने र समयसँग टिममेटसँग राम्रो तालमेल बन्नेमा मेस्सी विश्वस्त देखिए।

यसै सिजन बार्सिलोनासँग सम्झौता हस्ताक्षर गर्न असफल भएसँगै पीएसजी आएका मेस्सीको नाम त्यो भन्दा पहिला म्यानचेस्टर सिटीसँग पनि जोडिएको थियो। तर धेरैले मेस्सीलाई प्रिमियर लिगमा खेल्न नसक्ने बताएका थिए। तर इंगलिस टोली विरुद्ध ३४ वर्षीय स्ट्राइकरको रेकर्ड हेर्ने हो भने यस्ता कुरा अर्थबिहिन देखिन्छ।

गयराती मेस्सीले म्यानचेस्टर सिटी विरुद्ध गरेको गोल उनले सिटी विरुद्ध गरेको सातौं गोल रहेको छ। सिटी विरुद्ध ७ खेल खेलेका मेस्सीले ७ गोल गर्नुका साथै २ असिस्ट पनि प्रदान गरेका छन्। त्यस्तै, च्याम्पियन्स लिग इतिहासमा गरेको १२१ औं गोल प्रिमियर लिग टोली विरुद्ध उनको २७ औं गोल रहेको थियो।

मेस्सीका ठूला प्रशंसक मानिने ग्यारी लिनेकरले एक ट्वीट गर्दै मेस्सीको लागि प्रिमियर लिगमा खेल्ने कुनै ठूलो कुरा नभएको बताएका छन्। “सबै गोल च्याम्पियन्स लिगमा र सबै गोल टप ६ भनिएका टोली विरुद्ध…. र केहि मानिस अझै भन्छन् उनले प्रिमियर लिगमा केहि गर्न सक्दैनन्,” उनले ट्वीट गरे।

त्यस्तै गत वर्ष मात्र एक भिडियोले निकै चर्चा पाएको थियो। Fad3nHD नामक युट्युब च्यानलको यस भिडियोले अहिले पुन: चर्चा पाएको छ। जसमा मेस्सीले प्रिमियर लिग टोली विरुद्ध गरेको प्रदर्शन देख्न सकिन्छ।

प्रकाशित : बुधबार, असोज १३, २०७८१६:५७

च्याम्पियन्स लिग: आजको खेलमा म्यानचेस्टर युनाईटेडको भिडन्त भिल्ला रीयालसँग, जुभेन्टस र चेल्सि आमनेसामने