कुन दलबाट कोको बन्दै छन् मन्त्री ? [सूची सहित]

काठमाडौँ – मन्त्रालयको संख्याका विषयमा भने गठबन्धन आबद्ध दलबीच सहमति भइसकेको छ । सहमतिअनुसार कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर, कुनकुन मन्त्रालय कसले लिने भन्ने टुंगिएको छैन । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

कांग्रेसबाट कोको ?
कांग्रेस उच्च स्रोतका अनुसार कांग्रेसबाट दिलेन्द्र बडु, डा. मीनेन्द्र रिजाल मन्त्री बन्ने पक्का छ । यस्तै, भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् । यस्तै, पुष्पा भुषाललाई समेत प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा ल्याउँदै छन् । बडु र रिजाल कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् । यस्तै, प्रधान र चौधरी सिटौला समूहका हुन् । भुषाल भने देउवानिकट हुन् ।

यस्तै, सरकारमा हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई भने स्वास्थ्य मन्त्रालयमा लैजाने प्रधानमन्त्रीको तयारी छ । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने राज्यमन्त्रीकै भूमिकामा राखिने बताइएको छ ।

देउवाले २९ असारमा प्रधानमन्त्री बनेपछि आफ्नो दलबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री बनाएका थिए । यस्तै, १० साउनमा स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए । यस्तै, ६ असोजमा देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई ल्याएका थिए । देउवा क्याबिनेटमा रहेका सबै मन्त्री पार्टीभित्रको उनकै समूहसँग आबद्ध छन् ।

माओवादी केन्द्रबाट यी हुन् सम्भावित नाम
गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराती, मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलमध्ये दुई जना र जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्ये एक जना मन्त्री बन्नेछन् ।

एक जना भने राज्यमन्त्री बन्ने सम्भावना छ । माओवादीकातर्फबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

नेकपा एसबाट कोको ?
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि पाँच मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । सो दलबाट विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना सरकारमा सहभागी हुने पक्का छ । सो पार्टीबाट सरकारको नेतृत्व भने खतिवडाले गर्नेछन् ।

जसपाबाट यी नाम चर्चामा
जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई दिएको छ । जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का भएको छ ।

प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि जसपाबाट सरकारको नेतृत्व श्रेष्ठले गर्ने भएका हुन् । यस्तै, जसपाबाट महेन्द्र राय यादव, प्रदीप यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ ।

प्रकाशित : बिहिबार, असोज १४, २०७८०७:५२

ओलीको नयाँ प्रस्तावले राजनीतिमा तरंग, कांग्रेसमा खुशियाली !