बर्खास्तीको चर्चाका बाबजुत कोम्यानलाई खेलाडीहरुको साथ, क्लबको भने टुंगो भएन !

एजेन्सी – बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङले प्रशिक्षक रोनाल्ड कोम्यानलाई बार्खास्त गर्दैमा समस्याको समाधान नहुने बताएका छन्। च्याम्पियन्स लिग अन्तर्गत पोर्चुगिज क्लब बेन्फिाकासँग लज्जास्पद हार बेहोरेपछि डी जोङले कोम्यानलाई बर्खास्त गर्दैमा समस्याको समाधान नहुने बताएका हुन्।

बेन्फिाकासँग पराजित भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै डी जोङले प्रशिक्षक परिवार्तन गर्दैमा समस्या टरेर नजाने बताए। आफूहरु ठूलो समस्यामा रहेको र समस्याबाट छुटकारा पाउन धेरै मेहेनत गर्नुपर्ने अवस्था रहेको डी जोङको भनाई छ।

“म कोम्यानका बारेमा धेरै कुरा गर्न सक्दिन, त्यो मेरो काम पनि होइन। तर प्रशिक्षक फेर्दैमा सबै कुराको समाधान निस्किन्छ भन्ने होइन।”,पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने।

आफूहरु पिचमा मात्र नभई प्रशिक्षणमा पनि मेहेनत गरिरहेको डी जोङले सुनाए। उनले भने,”हामी सबै काम गर्दैछौं, प्रशिक्षणमा कडा मेहनत गरीरहेका छौं, हामी मैदान मा सक्दो प्रयास गरिरहेका छौं तर आज हाम्रो दिन थिएन, त्यो स्पष्ट छ।”

यस्तै सर्जियो बुस्केट्सले पनि डी जोङको भनाईमा सहमति जनाए। प्रशिक्षकलाई बर्खास्त गर्न सजिलो भएपनि सबैले आफ्नो जिम्मेवारी पूरा नगरेसम्म केहि नहुने बुस्केट्सले बताए। आफूहरु नाजुक स्थितिमा भएपनि सबैले जिम्मेवारी बहन गरिनुको विकल्प नरहेको बुस्केट्सको भनाई छ।

यसै बीच कोम्यानले पनि आफू माथि खेलाडीहरुको विश्वास रहेको बताए। अरुका बारेमा केहि थाहा नभएपनि खेलाडीबाट भने आफूलाई पूर्ण समर्थन रहेको उनको भनाई छ।

“मलाई मेरा खेलाडीहरु र उनीहरुको मनोवृत्तिले समर्थन गरेको महसुस हुन्छ। मलाई बाँकीको बारेमा थाहा छैन। मलाई क्लबको बारेमा थाहा छैन।”,उनले भने।

प्रकाशित : बिहिबार, असोज १४, २०७८११:३३

च्याम्पियन्स लिग : बार्साको ३ गोल खाने ठेक्का, युनाईटेडले बदला चुकायो।