काठमाडौँ – सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने÷नगराउने आदेश जारी गरेको हो ।
गृह मन्त्रालयको स्पष्टोक्ति
सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ ।
गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै, “नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ”, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।