साफ च्याम्पियनसिप अगाडी किरणले भने- “हामी लडेर उपाधि जित्ने पूरा प्रयास गर्छौं, भरोसा राख्नुस्”

काठमाडौं – माल्दिभ्समा शुक्रबारदेखि सुरु हुने साफ च्याम्पियनसिपको लागि नेपाली टोली उपाधिका लागि लड्ने कप्तान किरण चेम्जोङले बताएका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान किरणले माल्दिभ्सलाई घरेलु समर्थन हुने भएपनि त्यसको मतलब नहुने बताए । ‘माल्दिभ्सलाई घरेलु समर्थक र वातावरणको फाइदा पुग्ला । हामी समर्थकको सम्मान गर्छौं तर त्यसले हामीलाई खास असर गर्दैन । हामी मैदानमा लडेर नतिजा निकाल्नेछौं,’ उनले भने ।

टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले पनि माल्दिभ्सविरुद्ध खेल कठिन हुने बताए । ‘माल्दिभ्स राम्रो टोली हो र साविक विजेता पनि । घरेलु मैदानमा खेल्दा पक्कै सहज हुनेछ । हामीलाई उनीहरुको सामना गर्न कठिन हुनेछ,’ उनले थपे ।

नेपालले साफ च्याम्पियनसिपको तयारीका लागि दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल १-१ को बराबरीमा सकिँदा दोस्रो खेलमा भने नेपाल २-१ ले पराजित भएको थियो । त्यसपछि दुई साता कतारमा बिताएको नेपाली टोलीले त्यहाँ पनि दुई खेल खेलेको थियो । स्थानीय क्लबलाई २-० ले पराजित गरेको नेपालले ओमानविरुद्ध भने ७-२ को हार बेहोरेको थियो ।

नेपालले शुक्रबार हुने पहिलो खेलमा रातको ९:४५ बजे माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेल श्रीलंकाविरुद्ध सोमबार ९:४५ बजे नै हुनेछ । १० अक्टोबर रातको ९:४५ बजे भारतको सामना गर्ने नेपालले लिगको अन्तिम खेलमा १३ अक्टोबर ४:४५ बजे बंगलादेशको सामना गर्नेछ ।

नेपालले हालसम्म प्रतियोगिताको फाइनल खेल्न सकेको छैन । नेपाल पछिल्लो संस्करणमा माल्दिभ्ससँग सेमिफाइनलमा ३-० ले पराजित हुँदै बाहिरिएको थियो । त्यसअघि सन् २०१३ मा घरेलु मैदानमा भएको प्रतियोगितामा पनि नेपाल सेमिफाइनलमा रोकिएको थियो ।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८०९:४३

“मेस्सीले प्रिमियर लिगमा खेल्न सक्दैनन् भन्नेहरुलाई मेस्सीले दह्रो दनक दिए”