एट्लेटिको मड्रिडका फरवार्ड लुइस सुआरेजले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको युगमा गोल्डेन बुट अवार्ड जित्न पाएकोमा गर्व लागेको बताएका छन्। सुआरेजले आफ्नो करियरमा २०१४ र २०१६ मा गरी २ पटक युरोपियन गोल्डेन बुट जित्न सफल भएका छन्।
मार्काको माध्यमबाट टिभीइ१ सँग बोल्दै पूर्व लिभरपुल स्टारले बार्सिलोनामा आफ्नो समयको बारेमा बताएका छन्। लियोनल मेस्सी भएको टोलीबाट रियल म्याड्रिड विरुद्ध एल-काल्सिकोमा ह्याट्रिक गर्नुको अनुभव पनि उनले बताएका छन्। उरुग्वेन स्टारले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुबैलाई भोटका कारण नभई फर्मको आधारमा हराउन पाएकोमा गर्व महसुस गर्छन्।
पूर्व बार्सिलोना स्टारले भने,”मैले सधैं भनेको छु: मैले क्रिस्टियानो रोनाल्डो र लियो मेस्सीको युगमा दुई गोल्डेन बुट जितें र मैले गर्व गर्नै पर्छ किनकि मैले उनीहरुलाई संख्याको हिसाबले हराएँ, मानिसहरुको भोटले हैन र यसको धेरै मूल्य छ। मैले बार्सिलोनामा जिम्मेवारी लिएँ जब लियो त्यहाँ थिएनन्। हामी रियल म्याड्रिड विरुद्ध खेलेका थियौं र मैले ह्याट्रिक गरें।”
सुआरेजले २०१३-१४ को सिजनमा पहिलो पटक युरोपियन गोल्डेन बुट जितेका थिए, जुन सिजन उनले लिभरपुलका लागि ३१ लीग गोल गरेका थिए। जसपछि २०१६ मा लालिगामा मेस्सी र रोनाल्डो दुबैलाई पछि पार्दै ४० लिग गोलका साथ उनले दोस्रो गोल्डेन बुट जित्न सफल भए।