मेस्सी र एम्बाप्पेको जोडि जम्दा एक्लिए नेयमार !

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले म्यानचेस्टर सिटी विरुद्ध सुन्दर गोल गर्दै क्लबमा आफ्नो आगमन भएको घोषणा गरेका छन्। मेस्सीले गत मंगलबार पीएसजीको जर्सीमा चौंथो खेलमा गोलको खाता खोलेका हुन्।

३४ वर्षीय स्ट्राइकरले डी-बक्स भन्दा थोरै बाहिर बाट गरेको सुन्दर गोललाई असिस्ट प्रदान गरेका थिए अर्का स्टार खेलाडी फ्रेन्च सेनसेसन किलियन एम्बाप्पेले। २२ वर्षीय स्ट्राइकरसँग राम्रो वान-टु पछि निकै आकर्षक गोल गर्दै मेस्सीले पीएसजीलाई सिटी विरुद्ध २-० को अग्रता दिलाएका थिए। गोलपछि मेस्सीले आफ्नो औंलाले एम्बाप्पे तर्फ इशारा गर्दै सेलिब्रेसन गरेका थिए।

मेस्सी र एम्बाप्पेको जोडि जमेको उक्त खेलमा अर्का स्टार खेलाडी नेयमारले भने खासै प्रभाव पार्न सकेनन्। यस्तोमा २०२१ मा ओपन-प्लेबाट ३ गोल मात्र गर्न सफल भएका ब्राजिलियन स्टार खेलाडी अहिले पीएसजीको आक्रमण पङ्क्तिमा एक्लो खेलाडी भएका छन् जसले यो सिजन खासै प्रभाव जमाउन सकेका छैनन्।

पीएसजीका लागि नेयमारको यस सिजन एक मात्र गोल पनि पेनाल्टी मार्फत आएको छ। लियोन विरुद्धको खेलमा २-१ को जीत निकाल्ने क्रममा पाएको पेनाल्टी मार्फत २९ वर्षीय स्टारले गोल गरेका थिए। हाल मेस्सी र एम्बाप्पेको जोडि चम्किरहँदा उनलाई पनि राम्रो प्रदर्शन गर्ने दबाब बढ्दै गएको छ।

नेयमारको खराब प्रदर्शन जारी रहँदा विश्व फुटबल मै सबैभन्दा घातक मानिएको आक्रमण ट्रियो मेस्सी-नेयमार-एम्बाप्पेले पनि तहल्का मच्चाउन सकिरहेको छैन। तर नेयमार जस्तो क्लास खेलाडीको लागि लय भनेको केहि समयको कुरा हो। पीएसजी तथा उनका टिममेट नेयमार छिटै नै लयमा फर्किनेमा विश्वस्त रहेका छन्।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१७:३५

रियललाई पिएसजीले एम्बाप्पे र हालाण्ड दुवैजना भित्रयाउन कुनै पनि हालतमा नदिने !