एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजन शुरु भएपछि ८ खेल खेलिसक्दा मात्रै ३ खेलमा जित निकालेको छ। लालिगा अन्तर्गत ६ खेल खेल्दा बार्सिलोनाले ३ खेलमा जित निकाल्दै ३ खेलमा बराबरी खेलेको छ। यता च्याम्पियन्स लिगमा भने बार्सिलोनाले दुवै खेल हारेको अवस्था छ। सायद बार्सिलोना सिजनको शुरुवातमा यति धेरै कम्जोर भएको पहिलो पटक हो।
अहिले बार्सिलोना लालिगाको छैठौं स्थानमा छ। एक खेल बढी खेलेको शिर्ष स्थानमा रियल म्याड्रिड भन्दा बार्सिलोना पाँच अंकले पछाडी छ। सिजनको केहि खेल मात्र सकिएको अवस्थामै बार्सिलोना उपाधि होडबटा बाहिरिएको चर्चा हुन थालेको छ।
गएको सिजन देखि नै धर्मराएको बार्सिलोना तब झनै ओरालो लाग्यो, जब लियोनेल मेस्सीले बार्सिलोना छाडे। विभिन्न कारणले गर्दा बार्सिलोनामा बस्न नमिलेको भएर मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेपछि बार्सिलोना लिडरविहिन् भन्न पुग्यो।
मेस्सी एकै सिजनमा ३०-४० गोल सँग-सँगै ठूलो संख्यामा असिस्ट गर्न सक्थे। मेस्सी नहुँदा बार्सिलोनामा गोलको खडेरी पर्ने त पक्का नै भयो। मेस्सी एकली खेल जिताउन सक्ने क्षमता राख्ने खेलाडी हुन्। पछिल्लो समय बार्सिलोना कम्जोर हुनुमा कोम्यानलाई दोष देखाइएपनि बार्सिलोना कम्जोर हुनु पछाडीको मूख्य कारण मेस्सी हुन्। मेस्सी नभएकै कारण बार्सिलोनाको यो हविगत भएको भन्न सकिन्छ। केहि स्पेनिस पत्रकारहरुको बोलि बोल्ने हो भने बार्सिलोना मेस्सी बिना अनाथ नै भएको छ।
यदि मेस्सी भएको भए बार्सिलोना अहिलेको अवस्थामा कुनै पनि हालतमा हुँदैनथ्यो। लालिगा अन्तर्गत तीन खेलमा सायद बराबरी खेल्दैनथ्यो। यदि मेस्सी बार्सिलोनामै हुन्थे भने बार्सिलोनाले ग्रेनाडा र काडिजलाई हराएको हुन्थ्यो। बलियो बायर्न म्युनिक विरुद्ध उनको उपस्थितिले बार्सिलोनाले जित्न सक्थ्यो भन्न नसकिएला। तर बेन्फिका विरुद्ध भने जित्न सक्थ्यो।
त्यति मात्र होइन, मेस्सी बार्सिलोनामै भएको भए युवा खेलाडीहरु मेस्सीबाट प्रेरित हुन्थे र उनीहरु मेस्सीबाट केहि सिक्ने पाउँथे। जसबाट बार्सिलोना अझै बलियो हुन्थ्यो। यदि मेस्सी भए सायद रोनाल्ड कोम्यान पनि बर्खास्ती पर्ने अवस्थामा पुग्दैनथे।