घर फोर्ने देखि चोरीका सामान किन्ने सम्म पक्राउ !

काठमाडौँ – काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चोरी गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यकामा चोरी गर्ने र चोरीका सामान बिक्रीमा सहयोग पुर्याउने एक गिरोहलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा १८ वर्षका प्रिन्स श्रेष्ठ, २३ वर्षका बिबेक पण्डित र २७ वर्षका विजय बिक रहेका छन्। असोज ६ गते काठमाडौँ स्थित टोखा नगरपालिकाका अरूण थापाको घरमा भएको चोरीको अनुसन्धान गर्नेक्रममा तीनै जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

तीनै जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट सुन तथा हिराका गरगहनाहरू र ल्याप्टप बरामद गरेको छ। महाशाखाले दिएको जानकारी अनुसार श्रेष्ठ चोरी गर्ने व्यक्ति हुन् भने पण्डित चोरीको सामान बिक्री गर्ने व्यक्ति रहेका छन्। त्यस्तै बिक चोरीको सामान खरिद गर्ने व्यक्ति रहेको बताइएको छ।

“मिति २०७८।०६।०१ गते काठमाण्डौ जिल्ला टोखा न.पा वडा नं. २ स्थित अरूण थापाको घरबाट बिभिन्न सुन तथा हिराका गरगहनाहरू र ल्यापटप समेत चोरी भएको घटनाको अनुसन्धानको सिलसिलामा यस महाशाखाबाट खटिएको अनुसन्धान टोलीले मिति २०७८।०६।१५ गते उक्त चोरी घटनामा संलग्न व्यक्तिहरुलाई काठमाण्डौंको विभिन्न स्थानहरूबाट सुन तथा हिराका गरगहनाहरू र ल्याप्टप सहित पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात: थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको ।”,महाशाखाले एक सूचना जारी गर्दै पक्राउ गरिएको सम्बन्धमा जानकारी गराएको छ।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१९:२७

पोर्चुगल पठाइदिन्छु भन्दै भन्दै चार लाख ठगे, नपठाएपछि पक्राउ !