माल्दिभ्सलाई हराएपछि अलमुताइरीले भने – ‘हामी जितको हकदार थियौं’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को पहिलो खेलमा माल्दिभ्सविरुद्ध नेपाल जितको हकदार रहेको बताएका छन् ।

उनले नेपालले योजना अनुसार नै माल्दिभ्सलाई खेलमा खुलेर खेल्न नदिएको बताए । ‘हामीले माल्दिभ्सको बारेमा राम्रो अध्ययन गरेका थियौं । हामीले उनीहरुलाई घरेलु मैदान र अवस्थाको दबाब महसुस गराउने योजना बनाएका थियौं । गोलरहित बराबरीमा रहनुले पनि उनीहरुलाई समस्या भएको थियो,’ उनले भने ।

‘हामीले मिनेट पिछे मिहिनेत गरेर जितको हकदार थियौं । हामीले उनीहरुलाई खुलेर खेल्न अवसर दिएनौं । सेट पिसमा केहि अवसर सिर्जना गरेका थिए, तर ओपन प्लेमा हामीले कुनै अवसर दिएनौं । हामीले पनि पाएका केहि अवसर सदुपयोग गर्न सकेनौं । यो नै फुटबल हो । आजको हाम्रो हिरो मनिष डाँगी रहे,’ प्रशिक्षक अलमुताइरीले भने ।

अलमुताइरीले ओमानविरुद्ध मैत्रीपूर्ण खेलको हारले आफू पनि निराश रहेको बताए । ‘मैले नेपालमा पनि भनेको थिएँ, उमेर मात्र अंक हो । कुवेत र सिरियामा पनि युवा खेलाडीले खेलेका छन् । नेपालका समर्थक ओमानविरुद्ध ७-२ ले खेल्दा निकै निराश थिए । म आफैं पनि थिएँ । तर आफूभन्दा बलियो टोलीसँग खेल्दा निकै अनुभव बटुल्न सकिन्छ ।’

‘मनिषले ठूलो रंगशालामा खेलेको यो पहिलो खेल हो । आयुष घलान अर्का युवा खेलाडी हुन् जो धेरै सम्भावना बोकेका छन् । यो टोलीलाई अझै समय चाहिन्छ । निकै राम्रो भविष्य देखेको छु । ,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले अन्त्यमा सबैलाई संयमित रहन पनि आग्रह गरे । ‘ हामीले अहिले उपाधि जितिसकेका छैनौं । सबै संयमित हुन जरुरी छ । भोली विहान हामीले सबै कुरा बिर्सनुपर्छ । हाम्रो ध्यान अब अर्को खेलमा हुनेछ । त्यसैले नेपालमा रहेका सबैलाई पनि शान्त रहन आग्रह गर्दछु,’ उनले थपे ।

नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे हुनेछ । सोमबार नै पहिलो खेलमा भारत र बंगलादेश भिड्नेछन् ।

प्रकाशित : शनिबार, असोज १६, २०७८०८:१८

बर्खास्त हुने चर्चाका बीच कोम्यानले भने – ‘मेरा पनि कान छन्, आँखा छन्’