काठमाडौँ – विवाह नै नगरी अन्तरङ्ग सम्बन्धसहित एकै ठाउँमा मिलिजुली बस्ने ‘लिभिङ टुगेदर’को प्रचलन सहरी जीवनमा बढिरहेछ । यसले समाजको यौनाचारप्रतिको धारणामा आएको ठूलो परिवर्तनतर्फ सङ्केत गर्छ । पश्चिमा समाजमा यो प्रचलन सीमान्त हुँदै अहिले सर्वस्वीकार्य र सामान्य भएको छ । दुवैथरीले कालान्तरमा पति–पत्नी भएर जीवनयापन गर्ने उद्देश्यका साथ थालनी गरिने ‘लिभिङ टुगेदर’ सम्बन्धले विवाहकर्मको महìवलाई निरन्तर चुनौती दिइरहेको छ । विवाह गर्नुपर्नाको कारणलाई अनिश्चिततातर्फ उन्मुख गरिरहेको छ । अब आएर के विवाह आवश्यक छ र भन्ने प्रश्न पनि उठाइरहेको छ ।
आजका दिनमा पृथ्वीका सबैभन्दा तीव्र गतिका धावक लेमन्ट मार्सेल जोकोब्सको पारिवारिक जीवनबारे पढ्दा हामी नेपालीलाई आश्चर्य लाग्छ । उनी आफ्नी प्रेमिकासँग बसिरहेका छन् र उनीहरूबाट दुईवटा सन्तान भइसकेका छन् भने योभन्दा पहिलाकी प्रेमिकाबाट पनि उनको एक सन्तान छ । सबै प्रकारका विवाहइतर यौनाचार हाम्रो परम्परा र सामाजिक मूल्य–मान्यताभित्र पर्दैन तर पश्चिमा समाजमा उमेर पुगेका अविवाहित जोडी वैवाहिक सम्बन्ध कायम नगरी पनि यौनक्रिया एवं प्रजनन गर्न स्वतन्त्र हुन्छन् । यस्तो यौनाचार लामो समयका लागि गर्नुपर्दा ‘लिभिङ टुगेदर’को ‘रिलेसनसिप’ भनिन्छ र त्यहाँको सामाजिक मूल्य र मान्यतामा यसलाई आन्तरिकीकरण गरिसकिएको छ । बेलायतका वर्तमान प्रधानमन्त्रीले पनि ‘लिभिङ टुगेदर’मा रहेकी युवतीसित बच्चा भइसकेपछि हालै मात्र विवाह गरेका छन् । हाम्रो लोकोक्तिको ‘बाउको बिहे देख्नु’ असम्भवप्रायः घटना हो तर बोरिस जोन्सनका छोराछोरीलाई यो अवसर प्राप्त भयो ।
सिकारी युगमा मातृशक्तिको प्राधान्य थियो । महिलाले वासस्थान वरिपरि कृषि र वनस्पतिको कर्मबाट जोहो गरेको खाद्य पुरुषले सिकारबाट ल्याएको खाद्यमा थप गर्थे । सिकारमा खतरा थियो र कृषिमा खतरा सीमित थिए । सिकारको विकल्पमा कृषिबाट खाद्य समस्याको स्थायी र भरपर्दो ढङ्गले समाधान हुने कुरा मानिसले अनुभव ग¥यो । कृषिको विकास र विस्तारले मानिसलाई सुगम जीवन र फूर्सदको क्षण प्राप्त भयो । कृषि युग भनेको मानिसको आवश्यकताको पहिचान, उपयुक्त जमिनको प्राप्ति र सामूहिक तथा गहन श्रम लगानीको संयुक्त परिणति भएकाले यो युगबाट कुलकुटुम्बको श्रीगणेश भएको मानिन्छ । जाँगरिलो, दृढ, प्रतिस्पर्धा गर्न सक्ने, लक्ष्यभेदी र वस्तुपरकजस्ता गुणहरूले युक्त पुरुषका लागि जमिनको प्राप्ति र त्यसमाथिको स्वामित्व महìवपूर्ण हुँदा कुलकुटुम्बका लागि प्रजनन शक्ति भएकी नारी ‘सर्वोत्तम उपहार’ भइन् । यहीँबाट परिवारको सुरुवात भयो र परिवारको पवित्रताका लागि यौन जीवन नियमन हुन जरुरी थियो । यसैका लागि विवाहको आविष्कार भएको हो । विवाहका नियमले सामाजिक संरचनाको सिर्जना गर्छ ।
विवाहलाई महिमामण्डित गरियो र पितृसत्तात्मकतालाई दह्रिलो बनाउने कानुनी संस्थाका रूपमा यसको विकास गरियो । विवाह पितृसत्तात्मकतालाई मजबुत बनाउने पद्धति भएकाले यो महिलाको परतन्त्रताको श्रीगणेश पनि थियो । औद्योगिक क्रान्तिले पाश्चात्य समाजमा परिवारको संरचना र यौनको नैतिकतामा परिवर्तन ल्यायो । महिलाको पुरुषसितको आर्थिक निर्भरता घटेर गयो । शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका बढेर आयो । चिकित्सा विज्ञानको प्रगतिले आमा र बच्चाको मृत्युदर घटेर गयो । परिवार नियोजनका साधनको प्रयोग बढेर गयो । रति रोगहरू नियन्त्रणमा रहे । विवाह नगरी वा विवाहइतर यौन सम्बन्ध राख्नु पापसित सम्बन्धित हुन छाड्यो । महिलाको चाहनाविपरीत र उमेर नपुगेकासँग यौन सम्बन्ध राख्नसम्म वर्जित गरियो । पाश्चात्य सामाजिक संस्थाले आत्माबोध तथा स्वतन्त्रतालाई जीवन शृङ्खला छनोट र व्यक्तिगत सम्बन्धका लागि महìवपूर्ण दिशानिर्देशका रूपमा जोड दिएकाले समूहभन्दा व्यक्तिवादको विकास भइरहेको छ । ‘लिभिङ टुगेदर’ यसै सोचको परिणाम हो । ‘लिभिङ टुगेदर’को सम्बन्ध विवाह नगरीकनै दुई जना सँगसँगै बस्ने बन्दोबस्ती हो । जोडीहरूले दीर्घकालका लागि वा स्थायी रूपकै रसबस वा यौनाचार गर्न यो सम्बन्धलाई रोज्छन् । यौनक्रिया दुई विपरीत लिङ्गीबीच अन्तरङ्ग सम्बन्ध कायम गर्ने र उनीहरूको भावनात्मक क्षेमकुशलका लागिसमेत एउटा महìवपूर्ण तìव हो । उमेर पुगेका जोडीले आपसमा राख्ने सम्बन्ध छनोटको अधिकार जीवनको अधिकार हो भनेर अदालती व्याख्या भइसकेको छ ।
‘लिभिङ टुगेदर’ सम्बन्ध राख्नुका विभिन्न कारण हुन सक्छन् । वैवाहिक सम्बन्ध असफल भएकालाई के लाग्छ भने विवाह क्षणभङ्गुुर छ । सम्बन्धविच्छेद भइरहने कुरा हो । त्यसैले विवाह गर्नुभन्दा ‘लिभिङ टुगेदर’ राम्रो सम्बन्ध हो भन्ने पनि छन् । एउटै घर–कोठामा बसेर, एउटै भातभान्सा गरेर खर्चबर्च बचाउनदेखि लिएर पढाइ वा नोकरी वा अन्य कारणले विवाहमा ढिलाइ गर्ने वा आर्थिक कठिनाइले विवाह गर्न नसक्दा विवाह नै नगरी यौनसुख लिन वा उत्तरदायित्व वा प्रतिबद्धताबिनाको यौन सुख लिनु छ भने पनि ‘लिभिङ टुगेदर’मा रहन्छन् । यो विवाहकै समानान्तर रूप हो । विवाहका धेरै चरित्र यसमा हुन्छन् । यसका जोडीहरू एउटै निवास र आम्दानीलाई साझेदारी गरेर उपभोग गर्छन् र अन्यसँगको अन्तरङ्ग सम्बन्धबाट टाडै रहन्छन् । ‘लिभिङ टुगेदर’मा बस्ने तय गर्ने जोडीले एक–अर्काप्रतिको दायित्व वा अधिकारका बारे पनि सुरुमै छिनोफानो गरेका हुन्छन्, जुन आपसी विश्वासमा आधारित हुन्छ । कतिपय अवस्थामा सामाजिक मूल्य र मान्यतालाई छल्न वा पारिवारिक वा आर्थिक कारणले पनि ‘लिभिङ टुगेदर’ बाध्यता हुनसक्छ । जस्तो, समलिङ्गी सम्बन्ध, अन्तरजातीय वा धार्मिक समूह भएको अवस्था यसका केही उदाहरण हुन् । कसैको दाम्पत्य जीवन अप्रिय वा त्रासदीपूर्ण तरिकाले टुङ्गिएको रहेछ भने त्यस्तो महिला वा पुरुषले पनि वैवाहिक सम्बन्धको पुनः प्रारम्भ गर्नेतर्फ रुचि नदेखाउन सक्छन् र ‘लिभिङ टुगेदर’ उनीहरूको प्राथमिकतामा पर्छ ।
त्यसो त नेपाली समाज पनि विचारको ग्रहणशीलता र समयसापेक्ष मूल्य–मान्यताको विकासमा समकालीन विश्व समाजकै समानान्तर छ । तथापि त्यसलाई टेको दिने संरचनाको अभावमा परम्पराकै बिँडो थामिरहेको अवस्था पनि छ । ‘लिभिङ टुगेदर’ पनि देखासिखी गरेर सहरी समाजमा प्रयोगमा आइसकेको जीवनपद्धति हो, जसको नतिजा प्रकाशमा आउन थालिसकेको छ । ‘लिभिङ टुगेदर’ कानुनको नियमनभित्र छैन । १८ वर्ष पूरा भएका युवाले यौनसम्बन्ध राख्न र सन्तान जन्माउन पाउँछन् तर विवाह गर्न पाउँदैनन् । २० वर्ष पूरा भएपछि पनि विवाह नै नगरी ‘सँगसँगै बस्न’ र सन्तान जन्माउन कुनै कानुनी अवरोध छैन । वैवाहिक सम्बन्ध नभए पनि त्यस्ता दम्पतीबाट जन्मिएको सन्तानको पञ्जिकाधिकारीले जन्मदर्ता गरिदिनुपर्छ तर दुवै जना उमेर पुगेका अविवाहित हुन् भन्ने कुरामा पञ्जिकाधिकारी सन्तुष्ट भएपछि मात्र विवाह दर्ता हुनसक्छ । भारतमा विवाह नगरेका जोडीबाट जन्मिएको बालकले आफ्ना बाबु–आमाको सम्पत्तिमा मात्र हक पाउँछ, त्योभन्दा माथिल्ला पुस्ताको सम्पत्तिमा उसको कुनै अधिकार हुँदैन तर हाम्रो सन्दर्भमा त्यो भेदभाव छैन बरु कुनै अविवाहित जोडीबाट सन्तानको जन्म हुनु नै विवाह पनि स्वतः हुनु हो, कुनै औपचारिक समारोह आदि गरेर विवाह गरिरहन पर्दैन । ‘लिभिङ टुगेदर’ले आफ्नो हुनेवाला जीवनसाथीबारे जान्ने र आफ्नो चाहना अनुकूलको छ, छैन भन्ने जाँच्ने अवसर दिन्छ । कुनै नयाँ घर किन्नु र विवाह गर्नु एकैजस्तो हो ।
नयाँ घर किन्नुपूर्व हेरीबुझी आफ्नो आवश्यकताअनुरूप भए, नभएको यकिन गरेजस्तै जीवनसाथीको छनोटबारे पर्याप्त जानकारी प्राप्त गर्नु पनि उत्तिकै जरुरी हुन्छ । उसको यौन क्षमता, चाहना र प्रवृत्तिबारे थाहै नपाई विवाह गर्दा विवाह टुट्ने वा कचमचिएको तनावपूर्ण वैवाहिक जीवन बिताउनुपर्छ । कानुनमा विवाह गर्ने दुवै स्वतन्त्र भएजस्तै सम्बन्धविच्छेद गर्न पनि स्वतन्त्र हुन्छन् । विवाहलाई स्वर्गैदेखि बाँधिएको बन्धन भनेर विश्वास गर्ने हाम्रोजस्तो समाजमा यो सात जुनीसम्म चलिरहन्छ भनेर यसको महिमामण्डन गरिएको छ । मन नमिल्दा अदालतमा गएर सम्बन्धविच्छेद त गर्न सकिन्छ तर यो समयग्राही, खर्चिलो, झञ्झटिलो, जटिल र कष्टप्रद हुन्छ । विवाह स्थायी प्रतिबद्धता हो भने ‘लिभिङ टुगेदर’ सजिलै सम्बन्धलाई तोड्न सकिने र थोरै मात्र उत्तरदायित्व लिनुपर्ने अस्थायी सम्बन्ध हो । ‘लिभिङ टुगेदर’का जोडीलाई विवाहको तुलनामा बढी स्वतन्त्रता हुन्छ, अर्को जोडीप्रतिको सहयोग र समर्थनको दायित्व न्यूनतम रहन्छ । ‘लिभिङ टुगेदर’को यौनाचारमा विश्वासको कमी हुनसक्छ । दुवैलाई यो अस्थायी सम्बन्ध हो भन्ने लाग्छ । योभन्दा गतिलो वा राम्रो अर्को भन्ने लाग्नेबित्तिकै ‘लिभिङ टुगेदर’ टुङ्गिनसक्छ ।
नेपाली समाजमा ‘लिभिङ टुगेदर’मा महिलाको अवस्था प्रतिकूल हुने गरेको छ । महिलालाई विवाहको प्रलोभन देखाई वा विश्वासमा पारी पुरुषले यौन सन्तुष्टि लिन यस्तो सम्बन्ध राख्ने गरेको पाइएको छ । यौनाचारमा रहेको निकटता र प्रगाढताले एकअर्काप्रति आदर र विश्वासको माग गर्छ । वैवाहिक जीवनमा महिला–पुरुषबीचको सम्बन्धको गम्भीरता, आत्मीयता र घनिष्ठता एवं चासो र सरोकार अन्य अवस्थाको वा अन्यसँगको सम्बन्धमा हुँदैन । विवाहपछि पति–पत्नीले पारिवारिक जीवन स्थापना गरेर जीवनयापन गर्छन् । यिनीहरूले एकअर्कालाई सहयोग, संरक्षण र सम्मान गर्नुपर्छ । मानव जातिको रचना यसरी गरिएको छ, यी दुईले एकअर्काबाट सिक्ने कुरा धेरै हुन्छन् ।
परिवारमा असल सम्बन्ध र मानसिक तन्दुरुस्ती अन्योन्याश्रित हुन्छन् । असल, निकट, दिगो र हार्दिकतापूर्ण आपसी सम्बन्धले मानिसलाई प्रयोजनमुखी, अर्थपूर्ण र अपनत्वको विश्वास दिलाउँछ । राम्रो र सहानुभूति देखाउने व्यक्तिले ध्यानपूर्वक कुरा सुनिदिएर सहानुभूतिको दुई शब्द बोलिदिएमा मात्र पनि मानिसले आफ्नो तनावबाट मुक्ति र बेचैनीको आवेशबाट राहत पाउन सहयोग मिल्छ । आफूले माया गरेकोसित हुने कुराकानी वा छलफलले आनन्ददायक र सकारात्मक अनुभूति गराउँछ, ऊर्जा दिन्छ । व्यक्ति, साथीसङ्गी र समाजसित असल गुणको सम्बन्ध र सामाजिक संयोजकत्व भएका मानिस खुसी र मानसिक रूपमा तन्दुरुस्त हुने गरेको पाइएको छ । अलग भएर एकान्तमा बस्ने मानिसमा धेरै मानसिक समस्या हुने र उसको शारीरिक स्वास्थ्य पनि कमजोर हुन्छ । मानिसलाई के कुराले सुखी बनाउँछ भनेर पत्ता लगाउन हार्वर्ड विश्वविद्यालयले सन् १९३८ बाट प्रारम्भ गरी दशकौँ लगाएर मानिसको व्यवहारमा गरेको अनुसन्धानको सन् २०१२ मा मात्र प्रकाशित निष्कर्षअनुसार मानिसको खुसी र स्वास्थ्य उसले आर्जन गरेको धन, प्रसिद्धि वा कडा मेहनतले नभएर उसले राख्ने असल सम्बन्धहरूको परिणाम हो ।
(यो लेख गोरखापत्र दैनिकका लागि प्रकाश अधिकारीले लेख्नु भएको हो)