पहिलो पटक खुलेर बोलिन् हिमानी, यसो भनिन् !

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले उपयुक्त समय आएकाले सबै एक हुनुपर्ने बताएकी छन् । पूर्वयुवराज्ञी शाहको जन्मदिनको अवसरमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भनिन, ‘विगतबाट पाठ सिक्दै वर्तमानमा राष्ट्रलाई समृद्ध बनाउन सबै एक हुनपर्छ, ।’ अरू बेलाभन्दा खुलेर बोलेकी उनले उपयुक्त समय आएको बारेमा भने अथ्र्याइनन् । तर पछिल्लो समय उनी सामाजिक काममार्फत नागरिकको नजिक जाने प्रयास गरिरहेकी छन् । पूर्वराजा एवं उनका सुसुरा ज्ञानेन्द्र शाहले पनि उनलाई सामाजिक काममा लाग्न सहयोग पुर्याउँदै आएका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

आफ्नो जन्मदिनको अवसर पारेर नवलपरासीका बाढीपीडितलाई राहत वितरण गर्ने क्रममा शाहले नेपालबाट भइरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताइन् । उनले प्रतिभा पलायनलाई रोक्नुपर्ने भन्दै अहिलेको स्थितिलाई सहेर बस्ने सुविधा कसैलाई नभएको जिकिर गरिन् । उनले यसलाई आफूले नजरअन्दाज गर्न नसक्ने समेत जनाइन् । शाहले नेपाली हुनुका नाताले अब समय आएको सबै एक भएर सोच्ने र मनन गर्नेबेला आएको बताउँदै भनिन्, ‘मनन गरौँ कि हामी हाम्रो राष्ट्रलाई कसरी उत्थान गर्न सक्छौँ ।’ राष्ट्रलाई समृद्ध बनाउनुपर्ने भन्दै उनले मुलुकको सेवा गरे मात्रै अगाडि बढ्न सकिने धारणा व्यक्त गरिन् । शाहले मुलुकले हाम्रो लालनपालन गर्ने भएकाले विकसित राष्ट्र निर्माणको लागि प्रयत्नरत रहनुपर्नेमा जोड दिइन् ।

हिमानी ट्रस्टको कार्यालयमा आयोजित कार्यक्रममा नवलपरासीका पाँच सय बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु बालकल्याण आश्रममा रहेका बालबालिकाका लागि समेत खाद्यान्न सहयोग गरेको छ । त्यसैगरी राष्ट्रिय जनजागरण समाज सुधार आश्रमका ४४ बालबालिकाका लागि लुगा सहयोग गरेको जानकारी गराएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे कोषकी अध्यक्ष शाहले नेपाली जनताको सेवा नै ट्रस्टको लक्ष्य रहेको बताइन् । महामारीको समय सबै एकजुट हुनुको विकल्प नरहेको जनाउँदै उनले सबै नागरिकलाई खोप लगाउन माग गरिन् । त्यस्तै, उनले किसानका समस्या समाधान गर्दै कृषि उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिइन् । कोषले विगत ११ वर्षदेखि निरन्तर रूपमा सामाजिक कार्य गर्दै आएको छ ।

कोषले देशका ७७ वटै जिल्लामा स्वयंसेवकमार्फत विभिन्न समस्यामा परेका नागरिकलाई सेवा गर्ने आएको ट्रस्टको सदस्य सचिव रेश्मा राणाले जानकारी गराइन् । उनले ट्रस्टले ०७२ सालको भूकम्पमा पनि देशको विभिन्न भागमा गएर सेवा पुर्याएको बताइन् ।

सो अवसरमा उनलाई विभिन्न व्यक्तिले जन्मदिनको शुभकामना दिएका थिए । कार्यक्रममा सहभागीको अनुरोधमा तस्बिर लिँदै भलाकुसारीसमेत गरिन् । जन्मदिनको शुभकामना ग्रहण गर्दै उनले सहभागीलाई दसैं तिहारको शुभकामनासमेत दिएकी थिइन् । उनले अरू बेलाभन्दा शुक्रबारको कार्यक्रममा लामो सम्बोधन गरेकी थिइन् ।

प्रकाशित : शनिबार, असोज १६, २०७८०९:३२

जापानी राजकुमारीको सर्वसाधारण नागरिकसँग बस्यो प्रेम, विवाह गर्न त्याग्ने भइन् शाही हैसियत !