एजेन्सी – बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानको भविष्य बारे विभिन्न अड्कलबाजी तथा टिका-टिप्पणी भैरहेका छन्। गएको केहि समय देखि उनी बर्स्खास्त हुन लागेको खबर लगातार आइरहेका छन्। लगातार बार्सिलोनाले कम्जोर प्रदर्शन गरेपछि बार्सिलोना उनको ठाउँमा नयाँ प्रशिक्षक ल्याउन चाहन्छ।
यसै बीच आफ्नो भविष्यलाई लिएर विभिन्न चर्चा चलिरहेको बेला कोम्यानले आफूलाई क्लबले खासै केहि नभनेको बताएका छन्। लालिगा अन्तर्गत एट्लेटिको म्याड्रिडसँग खेल्नु अगाडी पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा आफूलाई अध्यक्ष र क्लबले केहि पनि नभनेको बताएका हुन्।
आफूलाई कसैले केहि नभनेपनि आफूसंग कान र आँखा रहेको कोम्यानले बताए। बार्सिलोना भित्र के चर्चा चलिरहेको छ भन्ने बारे आफू जानकार रहेको संकेत गर्दै उनले आफूसँग कान-आँखा रहेको र सबै कुरा सुनिरहेको बताएको बुझिएको छ।
“मलाई कसैले केही भनेको छैन। बिहान अध्यक्ष पनि आएका थिए। त्यसबेला उनले पनि केहि भनेनन्।”,कोम्यानले भने,”कसैले केहि नभनेपनि मेरा कान र आँखा छन्। भित्र-भित्र के चलिरहेको सबै थाहा छ। “
त्यस्तै कोम्यानले बार्सिलोनाका केहि खेलाडीहरु चोटिल अवस्थाबाट मुक्त हुँदै गएको पनि जानकारी गराए। आक्रमणपङ्तीका खेलाडीहरु मैदानमा फर्किनेक्रममा रहेका कारण आशा गर्ने धेरै ठाउँ रहेको कोम्यानले बताए। गोल गर्ने मामलामा बार्सिलोना अलिबढी कम्जोर देखिएको उनको भनाई छ।
“हामी पर्याप्त क्लिनिकल हुनसकिरहेका छैनौँ। एट्लेटिको एक शटमै गोल गर्न सकिरहेका छन्। तर ४ शटमा पनि हामी गोल गर्न सकिरहेका छैनौं। फरक त्यहि छ।”,उनले भने।