काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनाव जित्नेगरी काम गर्नुपर्ने बताएका छन्। काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्नेक्रममा थापाले आगामी निर्वाचनमा कुनै पार्टीसँग मिलेर चुनाव नलड्ने गरी काम गर्नुपर्ने बताएका हुन्।
पाँच वर्ष एक्लै सरकार चलाउनेगरी बहुमत ल्याउनुपर्ने गगन थापाले बताए। आउने ५-६ महिनामा सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भने पनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्ने अवस्था रहेको थापाले औंल्याए।
“सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भनेपनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्नेछ अबको ५/६ महिनाभित्रमा । त्यसैले तपाईहरुले विवेकपूर्ण निर्णय गर्नुहुन्छ भन्ने विश्वास छ।”,थापाले भने।
अन्य सबै पार्टीहरु मिलेपनि कांग्रेसलाई बहुमत दिलाउनेगरी पार्टीका सबै नेता तथा कार्यकर्ताले काम गर्नुपर्ने थापाको भनाई छ। हाल कांग्रेसको अवस्थाबारे समिक्षा गरेर भावी योजना बनाइनुपर्ने थापाले बताए।
उनले भने,”काँग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिस्ट, मधेसवादी मिले भने पनि काँग्रेसले जित्ने गरी काम गर्नुपर्छ । हामीले पाँच वर्ष सरकार चलाउनका लागि एकलै बहुमत ल्याउनुपर्छ।”