उपेन्द्रलाई जसरी पनि चाहियो ‘उपप्रधानमन्त्री’ पद !

काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री पद लिएर पार्टीबाट नेतृत्व गर्दै आफैं सरकारमा जान चाहेका छन्।यादवनिकट स्रोतका अनुसार उनको चाहना उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रालय हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

तर प्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटक कसैलाई पनि उपप्रधानमन्त्री दिन चाहेका छैनन्। जसपालाई उपप्रधानमन्त्री दिए कम्तीमा तीनवटा उपप्रधानमन्त्री राख्नुपर्ने, त्यसबेला रामचन्द्र पौडेल पक्षलाई समेत एउटा उपप्रधानमन्त्री पद दिनुपर्ने देउवाको बुझाइ छ। तीनवटा उपप्रधानमन्त्री राख्दा सरकार बदनाम हुने र यसको अपजस देउवाले भोग्नुपर्ने देउवानिकट नेताहरूको भनाइ छ।

पार्टीबाट नेतृत्व गर्दै यादव सरकारमा गएनन् भने पार्टीबाट कसले नेतृत्व गर्ने भन्नेमा पार्टीभित्र विवाद बढ्ने यादवनिकट नेताहरूको भनाइ छ। राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव र रेणु यादवले पार्टीबाट नेतृत्व गर्दै आफैं सरकारमा जान चाहेका छन्।

केही दिनअघि एक सार्वजनिक कार्यक्रमम यादवले यसपटक आफू सरकारमा नजाने बताएका थिए। तर शनिबार नागरिकसँगको सम्पर्कमा उनले आफू सरकारमा जाने/नजाने विषयमा छलफल नभएको बताए। ‘म सरकारमा जाने÷नजाने विषयमा कुनै निर्णय भएको छैन,’ यादवले भने, ‘यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ।’

स्रोतका अनुसार यादवले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयमा चासो राखेपछि मन्त्रालय बाँडफाँटमा सत्तारुढ गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन। अध्यक्ष यादवले मन्त्रालय बाँडफाँटको बारेमा आइतबारबाट मात्र छलफल हुने बताए।

आउने हप्तासम्म मन्त्रालय बाँडफाँटमा सहमति भई सरकार विस्तार हुने बताए। मन्त्रालयमा बाँडफाँटमा सहमति जुट्न नसकेको कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको यादवको भनाइ छ। यादवनिकट स्रोतका अनुसार परराष्ट्र नपाएपछि कम्तीमा भौतिक पूर्वाधार मन्त्रालय पाउनुपर्ने जसपाको अडान छ। भौतिक पूर्वाधारमा माधव नेपालको नेकपा (एस)ले पनि चाहना राखेको छ।

प्रकाशित : आइतबार, असोज १७, २०७८०९:००

प्रधानन्यायाधीशको भागमा पनि पर्यो मन्त्रीपद !