एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेज चम्किएपछि शनिबार बार्सिलोना पराजित भयो। बार्सिलोनालाई एट्लेटिकोले २–० गोल अन्तरले हराउँदा दुवै गोलमा सुआरेजको भूमिका रह्यो। सुआरेजले एक गोल गरेका थिए भने १ असिस्ट दिएका थिए।
एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलको २४औं मिनेटमा एट्लेटिकोले अग्रता लिएको थियो। उक्त गोल लुइस सुआरेजको पासमा थामस लेमारले गरेका थिए। त्यस्तै खेलको ४४औं मिनेटमा सुआरेजले थोमस लेमारको पासमा गोल गर्न सफल भएका थिए।
पूर्वक्लब बार्सिलोना विरुद्ध गोल गरेपनि गोल गरेकोमा खुशियाली भने मनाएनन्। गोल गरेपछि सुआरेजले हात जोड्दै माफी मागे। आफू खेलेको क्लब विरुद्ध गोल गर्दा उनले हात जोड्दै माफी मागेका हुन्।
खेलपछि सुआरेजले बार्सिलोना विरुद्ध गोल गरेको खण्डमा सेलेब्रेसन नगर्नेमा आफू पहिला देखि नै स्पष्ट भएको बताए। उनले भने,”गोल गरेपछि खुशियाली नमनाउनेमा म पहिला देखि नै स्पष्ट थिएँ।”
एक सम्झनलायक भेट
लालिगामा सुआरेजले पूर्वक्लब बार्सिलोना विरुद्ध दोस्रो पटक खेलेका हुन्। गएको सिजन एट्लेटिको पुगेका उनले बार्सिलोना विरुद्धको पहिलो खेल बिरामी भएका कारण गुमाएका थिए। त्यस्तै दोस्रो खेल भने बराबरीमा टुंगिएको थियो।
सुआरेज एट्लेटिकोका लागि धेरै नै महत्वपूर्ण खेलाडी सावित भैरहेका छन्। जारी सिजनमा उनले ८ खेल खेल्दा एट्लेटिकोका लागि ४ गोल गरिसकेका छन्। सुआरेजले गएको सिजन पनि उल्लेख्य संख्यामा गोल गरेका थिए। एट्लेटिको गएको पहिलो सिजनमै उनले २१ गोल गर्न सफल भएका थिए।