काठमाडौँ – साहस उर्जा कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालयमा आइतबार बिहान साहस उर्जाको आइपिओ बाँडफाँड सम्पन्न भएको हो।
आइपिओका लागि परेका योग्य आवेदन मध्येबाट ६ लाख ४४ हजार जना सर्वसाधारण गोलाप्रथामार्फत छानिएको र छनोट भएका सबैले १० कित्ताका दरले शेयर पाउने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ।
साहस उर्जाको आइपिओका लागि गत अशोज ६ गतेदेखि १० गतेसम्मका लागि आवेदन खुल्ला भएको थियो। कम्पनीले लगभग ७० करोड रुपैँयाको ७० लाख कित्ता शेयर निष्काशन गरेको थियो। ति मध्ये २ लाख २० हजार कित्ता शेयर कर्मचारीलाई छुट्याईएको थियो भने ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषको भागमा पर्दा बाँकी रहेका ६४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो।
आइपीओका लागि कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएकोमा आयोजना प्रभावित स्थानीयले दिएको ५ हजार २८५ जना आवेदन रद्द गरिएको थियो। त्यस्तै ७ हजार ७११ जना सर्वसाधारणको आवेदन पनि रद्द भएको थियो। बाँकी २३ लाख ८३ हजार ४६० जना योग्य आवेदकहरुलाई गोलाप्रथामा सहभागी गराइएको कम्पनीले जनाएको छ।
कसरी हेर्ने नतिजा ?
आइपिओको नतिजा सिडिएससीको वेबसाइट (https://iporesult.cdsc.com.np/) बाट हेर्न सकिन्छ । जसको लागि सिडिएससीको वेबसाइटमा गएर कम्पनि सेलेक्ट गरि 16-digit BOID मा आफ्नो डिम्याट नम्बर राखेर हेर्न सकिन्छ। साथै बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइटमा गएर पनि नतिजा हेर्न सकिनेछ।