लुइस सुआरेजले पूर्व क्लब बार्सिलोनाको विरुद्ध गोल गरेपछि स्ट्याण्डमा बसेका बार्सा प्रशिक्षक रोनाल्ड कोम्यानलाई इशारा फोन कल सेलीब्रेसन गरेका छन्। गत सिजन कोम्यानले प्रशिक्षक नियुक्त भएसँगै आफ्नो योजनामा सुआरेज नरहेको भन्दै अपमानजनक तरिकाले उरुग्वेली स्टारलाई टिमबाट बाहिरी बाटो देखाइएको थियो।
जसपछि एथलेटिको म्याड्रिड प्रवेश गरेका पूर्व लिभरपुल स्टारले क्लबलाई २०१३ पछि पहिलो पटक लालिगा उपाधि जिताउन प्रमुख भूमिका खेले। यस वर्षको सुरुवातमा ३४ वर्षीय स्ट्राइकरले बार्सिलोनाको योजनामा नरहेको भन्दा आफूलाई ठूलो झट्का लागेको खुलासा गरेका थिए।
“जब बार्सिलोनाले मलाई भन्यो कि उनीहरु मलाई भरोसा गर्दैनन्, त्यो निकै गाह्रो क्षण थियो, मैले त्यस्तो आशा गरेको थिएन,” उनले एल ट्रान्जिटरलाई भने,”जे भयो त्यसको कारण त्यो निकै कठिन समय थियो।”
एथलेटिको म्याड्रिड प्रस्थान गरेपछि पहिलो पटक बार्सिलोना विरुद्ध गोल गरेका सुआरेजले आफ्ना पूर्व प्रशिक्षक रोनाल्ड कोम्यानलाई इशारा गर्दै फोन कल सेलीब्रेसन गरेका हुन्। रातो कार्ड पाएका कोम्यान दुई खेलको प्रतिबन्ध अन्तर्गत साबिक लालिगा विजेता विरुद्धको खेलमा स्ट्याण्डमा रहेका थिए।