कांग्रेसको १४ औं महाधिवेशन : कुनै दाबेदारमा पनि देखिएन नयाँ एजेण्डा !

काठमाडौं । नेपाली कांग्रेसमा सभापतिका दाबेदारहरू पहिलोदेखि तेस्रो तहसम्मका नेताहरू छन् । उम्मेदवारी घोषणा गर्नेमा तेस्रो तहका नेता कल्याणकुमार गुरुङदेखि दोस्रो तहका विमलेन्द्र निधि, प्रकाशमान सिंह र पहिलो तहका गोपालमान श्रेष्ठसम्म छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा.शेखर कोइराला लगायतले पनि सभापतिमा दाबेदारी पेस गरे पनि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न बाँकी छ । कांग्रेसको महाधिवेशन पुसको ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

महाधिवेशन कार्यतालिका हेरफेर नभए १३ गते नै कांग्रेसको १४ औं सभापति चुनिने छन् । उनकै नेतृत्वमा कांग्रेस मुलुक संघीय संरचनामा गएपछिको दोस्रो पटक हुने स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने छ । निर्वाचन हुन करिब एक वर्ष बाँकी छ । जुन निर्वाचनमा पहिलो शक्ति बनाउनु निर्वाचित हुने सभापतिमाथि नैतिक दबाब पर्ने छ नै अर्कोतिर लोकतान्त्रिक समाजवादको विचारलाई कांग्रेसका प्रत्येक नेता कार्यकर्ताको मन मस्तिष्कमा स्थापित गराउनुपर्ने दायित्व छ ।

राजनीतिक विश्लेषक डा.विष्णु दाहालका अनुसार कांग्रेसको संगठनभित्र अनुशासनहीनता छ । पार्टीले अङ्गीकार गरेको समावेशीता र समानुपातिक राजनीतिक सिद्धान्तको सफल कार्यान्वयन हुन सकेको छैन । समय सापेक्ष मतदाता अनुकूल पार्टीको राजनीतिक कार्यदिशासँगै सांगठानिक संरचना बनाउन बाँकी छ । पञ्चायतकालदेखिको अर्थ नीति परिमार्जन भएको छैन । खुल्ला बजारको नीतिलाई चुनौति दिने गरी कांग्रेसभित्रै डन, ठेकेदार र दलालहरूको पहुँज फैलिँदो छ ।

कांग्रेस संस्थापक बिपी कोइरालाको विचारलाई २१औं शताब्दिमा खाली जमिनसँग मात्रै जोडेर ब्याख्या गरिने गरिएको छ । जबकि, जल, जंगल र जडिबुटीलाई पर्यावरणमा आधारित उत्पादन अर्थव्यवस्था जोड्नुपर्ने दायित्व रहेको डा.दाहाल बताउँछन् । यससँगै लोकतान्त्रिक समाजवादको विचारधारालाई बोक्ने क्षमतावान नेतृत्वलाई पार्टी र संसद्मा देख्न पाउने गरी व्यवस्थापन गर्नुपर्ने पनि भएको छ । अर्का राजनीतिक विश्लेषक डा.रमेश ढुंगेल राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने शक्तिशाली दलको रूपमा स्थापित गर्नु १४औं सभापतिको कर्तव्य हुने बताउँछन् ।

उनका अनुसार अहिले कांग्रेस प्रभावहीन दल देखिएको छ । ‘कांग्रेसको १४औं महाधिवेशनको गतिविधि भइरहेको छ, फेरि कांग्रेस सत्ताको नेतृत्व गरिरहेको दल पनि हो । तर प्रतिपक्षी दल नेकपा एमालेको विधान अधिवेशनको सर्वत्र चर्चा छ । कांग्रेस के गर्दैछ भन्ने थाहा नहुने गरी भयो’, डा.ढुंगेलले भने, ‘राष्ट्रिय राजनीतिमा प्रभावशाली दलको रूपमा स्थापित गर्नु त पर्यो ।’

मुलुकको ठूलो लोकतान्त्रिक दलको परिचय कांग्रेसको हो । तर, वैचारिक रूपमा कांग्रेसको धरातल कमजोर रहेको चर्चा छ । अग्रज राजनीतिज्ञ कृष्णविक्रम नेम्बाङलाई त कमजोर मात्रै होइन, कांग्रेस नेता कार्यकर्ताहरू वैचारिक रूपमा शून्य लाग्छ । उनी भन्छन्, ‘जति वैचारिक रूपमा नेता कार्यकर्ता परिपक्व हुन्छन्, त्यति पार्टी संगठन बलियो र मजबुत हुन्छ ।’ तर, त्यस्तो नभएकोप्रति उनको चिन्ता छ ।

कांग्रेसमा अनुशासनहीनता देखिने निर्वाचनको समयमा हो । पार्टीकै आधिकारिक उम्मेदवारविरुद्ध बागी उठ्ने चलन सामान्य जस्तै छ । मत पनि प्रतिस्पर्धी उम्मेदवारलाई दिने पनि हुने गरेको कांग्रेसकै अनुशासन समितिले जनाएको छ । जसलाई अन्तर्घात भनिँदै आएको छ ।
सभापति पदमा उम्मेदवारी घोषणा गरेकामध्येका नेता गोपालमान श्रेष्ठका अनुसार पार्टीमा अन्तर्घातको सुरुवातकर्ता गिरिजाप्रसाद कोइराला हुन् । जसले आफ्नै पार्टी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद भट्टराई हराउन एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मत दिन आह्वान गरेर अन्ततः पराजित गराएर छाडेको श्रेष्ठ बताउँछन् ।

यसरी सुरु भएको अन्तर्घात हाल कांग्रेसमा व्याप्त छ । यसलाई हटाउनु १४औं सभापतिको दायित्व छ । तर, राजनीतिक विश्लेषक डा.दाहाल भन्छन्, ‘अहिले जति सभापति पदमा दाबेदार देखिए, उनीहरू औंल्याएका दायित्वहरू निर्वाह गर्न सक्ने क्षमताका देखिन्नन् ।’ वर्तमान सभापति देउवामा पनि क्षमता नदेखिएको उनको टिप्पणी छ । १४औं महाधिवेशनमा सभापतिको दौडमा श्रेष्ठ, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ देखिएका छन् । देउवासहित पौडेल, कोइराला, सिंहलगायतका नेताहरू पनि सभापति पदको दौडमा देखिने भएका छन् । यी अनुहारहरूबाट सक्षम, सबल र सुदृढ कांग्रेस बनाउन गर्नुपर्ने दायित्वहरू पूरा नहुने डा.दाहालको ठम्याइ छ ।

प्रकाशित : सोमबार, असोज १८, २०७८०८:५१

बस भाडामा मनपरी : यात्रुले प्रतिवाद गरे १५ रुपैयाँ नत्र २०