साफ च्याम्पियनसिप: नेपाल र श्रीलंका बीच भिडन्त, नेपालमा लाइभ खेल कसरी हेर्ने ?

काठमाडौं – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत सोमबार हुने दोस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो । मनिष डाँगीले बेन्चबाट पस्दै खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको दर्शनीय गोल नेपालको जितको लागि पर्याप्त बनेको थियो । त्यस्तै श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । दश खेलाडीमा सिमित श्रीलंकाले पेनाल्टीमा गोल खादै पराजित हुन पुगेको थियो ।

नेपाल र श्रीलंका सन् २०१६ पछि पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । सन् २०१६ मा बंगबन्धु गोल्डकपमा भएको खेलमा नेपालले श्रीलंकासँग १–० को जित निकालेको थियो । उक्त खेलमा विमल घर्तिमगरले गोल गरेका थिए । त्यसअघि साफ च्याम्पियनसिप २०१५ मा भने नेपाल श्रीलंकासँग अन्तिम समयमा गोल खाँदै १-० ले पराजित भएको थियो । समग्रमा नेपालले श्रीलंकासँग १७ खेलमा तीन जित निकालेको छ । ८ खेल बराबरी खेल्दा ६ खेलमा हार बेहोरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्ध जितको लागि सचेत भएर खेल्ने बताएका छन् । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले श्रीलंकाविरुद्धको खेल सहज नहुने र संयमित भएर खेल्ने बताएका हुन् ।

‘श्रीलंकाविरुद्धको खेल हाम्रो लागि सहज हुनेछैन । श्रीलंका बलियो र राम्रो टोली हो । हामी माल्दिभ्सविरुद्धको खेललाई बिर्सेर श्रीलंकाविरुद्ध खेल्नेछौं ।’ प्रशिक्षक अल्मुताइरीले भने, ‘उनीहरुले राम्रो खेलिरहेका छन् । हामीले तीन अंक बटुल्न सक्यौं भने पक्कै खुसी हुनेछौं । यसका लागि हाम्रा खेलाडीले ९० मिनेट कडा संघर्ष गरेर खेल्नुपर्नेछ ।’

‘हामीले श्रीलंका र बंगलादेशको खेल हेरेका छौं । श्रीलंकाले पेनाल्टीकै कारण मात्र हारेको थियो । रातो कार्ड पाएपछि पनि टोलीले दबाबमा खेलेन,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले श्रीलंका ट्याकलमा निकै एग्रेसिभ रहने भएकाले विपक्षी टोलीका एक खेलाडीलाई रातो कार्ड दिलाउने रणनीति रहने बताए । ‘श्रीलंका निकै एग्रेसिभ ट्याकल गर्छ । हामीले त्यसको फाइदा उठाउँदै विपक्षी खेलाडीलाई रातो कार्ड दिने रणनीति बुन्नेछौं । उनीहरुको एक खेलाडी कम भएपछि हामीलाई खेल्न सहज हुने अपेक्षा छ,’ उनले प्रष्ट पारे,’ पछिल्लो खेलमा पनि हामीले देखेका थियौं । भोली पनि हामी सकेसम्म्द धेरै बल राखेर उनीहरुलाई ट्याकल गर्न बाध्य बनाउनेछौं ।’

श्रीलंका वरीयतामा निकै पछि रहेपनि त्यसले खेलमा फरक नपर्ने प्रशिक्षक अलमुताइरीले बताए । उनले श्रीलंकाविरुद्ध खेल नेपालको लागि पहिलो खेल जस्तो हुने बताए । ‘हाम्रो लागि यो प्रतियोगिताको पहिलो खेल हो । हामीले पछिल्लो खेलको नतिजा बिर्सिसकेका छौं । श्रीलंकाविरुद्ध हामी जितका लागि खेल्छों । हाम्रो लागि यो फाइनल खेल सरह हो । हामीले यो जसरी पनि जित्नुपर्छ,’ उनले टुंग्याए ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंकाविरुद्धको खेल नेपाली फुटबल इतिहासमै पछिल्लो समयका खेलमध्ये सर्वाधिक महत्वपूर्ण हुने बताएका छन् । उनले नेपाल इतिहासकै सर्वाधिक महत्त्वपूर्ण खेलमा जित निकाल्ने योजना रहेको सुनाए । प्रशिक्षक अलमुताइरीको भनाइलाई साथ दिँदै किरणले पछिल्लो खेलको नतिजा बिर्सेर अघि बढ्ने बताए ।

यता पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको श्रीलंका नेपाललाई हराउँदै साफमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । श्रीलंकाली प्रशिक्षक आमिर एलगिचले आफ्नो टिमको लक्ष्य प्रतियोगितामा पूनरागमन गर्ने रहेको बताए ।

‘श्रीलंका पनि दक्षिण एसियाली फुटबलमा छौं भनेर देखाउनु छ । हामी पहिलो खेलमा पराजित भयौं । हाम्रो लक्ष्य नेपालविरुद्ध सकारात्मक नतिजा निकाल्ने नै हुनेछ,’ प्रशिक्षक एलगिचले भने ।

सोमबार नै अपरान्ह ४:४५ बजे बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश लगातार दोस्रो जितको खोजीमा रहँदा भारतले च्याम्पियनसिपमा पहिलो खेल खेल्दैछ । यस खेलले पनि प्रतियोगिताको फाइनल समीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

कसरी हेर्ने नेपालमा लाइभ ? 

साफ च्याम्पियनसिप अन्तर्गतका कुनै पनि खेल नेपालमा कुनै पनि टेलिभिजनबाट प्रत्यक्ष प्रशारण नहुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। एन्फाले जारी गरेको ४० लाख बराबरको ब्रोडकास्टिङ राइटमा कुनै पनि प्रसारण एजेन्सीको बिड नपरेकोले नेपालमा साफ खेलको प्रत्यक्ष प्रसारण गराउन नसकिएको एन्फाले जनाएको छ।

प्रकाशित : सोमबार, असोज १८, २०७८१०:४७

प्रिमियर लिगमा टोटनह्याम र ब्रेन्टफोर्डको जित, सिटि र लिभरपुलले खेले बराबरी