काठमाडौं – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउण्ड रोबिन लिगको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकालाई पराजित गर्यो । प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । मनिष डाँगीले खेलको ५ मिनेट बाँकी रहँदा गरेको दर्शनीय गोल नेपालको जितको लागि पर्याप्त रहेको थियो । सोमबार श्रीलंकामाथि ३-२ को जित दर्ता गर्दै नेपालले लगातार दोस्रो जित हासिल गर्यो । नेपालको दोस्रो जितमा सुमन लामा, अन्जन विष्ट र आयुष घलानले १-१ गोल गरे ।
लगातार दोस्रो जितसँगै नेपाल ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालले दोस्रो स्थानको बंगलादेशभन्दा २ अंकको अग्रता पनि लिएको छ । बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । भारतले १ खेलमा १ अंक जोड्दा माल्दिभ्स र श्रीलंका अंकविहिन छन् । माल्दिभ्सले भने १ खेल मात्र खेलेको छ ।
नेपालले अब भारतविरुद्ध आइतबार हुने खेलमा जित हासिल गरे पनि फाइनल पुग्ने सम्भावना छ । त्यसका लागि विहीबार हुने खेलको नतिजा नेपालको पक्षमा आउनुपर्नेछ । नेपाल विहीबार विश्राममा रहँदा भारतले श्रीलंका तथा माल्दिभ्सले बंगलादेशसँग खेल्नेछन् । नेपालले अब लिगमा आइतबार भारत र बुधबार बंगलादेशको सामना गर्नेछ ।
हालसम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न नसकेको नेपाललाई यसपटक इतिहास रच्ने सुवर्ण अवसर छ । प्रशिक्षक अलमुताइरीले बताएजस्तै यसपटक नेपाल इतिहासनजिक छ । अब टोलीले आफू अनुकुल नतिजा आएमात्र पनि फाइनल पुग्ने सम्भावना रहन्छ ।