काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दवाव दिने निर्णय गरेका छन् ।
बानेश्वरस्थित निधि निवासमा बसेको तीन नेताहरूको बैठकले मन्त्रिपरिषद् विस्तारमा विलम्ब हुँदा पार्टीको बदनाम भएको भन्दै तत्काल सरकार विस्तारका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।
’दुई महिनासम्म सरकार विस्तार नहुँदा जुन किसिमले पार्टीको छविमा प्रश्न उठिरहेको छ, यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री समेत रहनुभएका सभापतिले निकै ढिला गरिसक्नुभयो । अब तत्काल मन्त्रिपरिषद् विस्तार हुनुपर्छ भन्ने हाम्रो सामूहिक धारणा छ, ’उनले भने ।
सरकार विस्तार नहुँदा कांग्रेस र गठबन्धन सरकारमाथि विश्वसनीयताको प्रश्न उठेकाले तत्काल मन्त्रिपरिषद् विस्तार गर्न सभापतिलाई ध्यानाकर्षण गराउने निर्णय भएको उपसभापति निधिले बताए ।
’हाम्रै पार्टीका नेता शेरबहादुरजीको नेतृत्वमा सरकार छ । तर अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता प्राप्त गर्न सकेको छैन । अहिले ८२/८३ दिन भइसक्यो सरकार गठन भएको, त्यो ज्यादै ढिला भयो । यति ढिलो हुनु हुँदैन भनेर हामीले चिन्ता व्यक्त गरेका छौँ,’ निधिले भने ।
सरकार विस्तारमा ढिलाई हुँदा गठबन्धन र कांग्रेसप्रति नकारात्मक मानसिकता विकसित भइरहेकाले त्यसप्रति तीनै नेता चिन्तित रहेको उनको भनाई छ । ’ढिलाइको कारणले जनतामा गठबन्धन र सरकारको कार्य प्रणाली र विश्वसनीयतामाथि नै टिकाटिप्पणी हुन थालेको छ । यसमा हामीले चिन्ता व्यक्त गर्यौं,’ निधिले भने ।
गठबन्धनका दलहरूबीच मन्त्रालय र संख्यामा भागबण्डा नमिल्दा अढाइ महिनासम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनको कार्यदलले स्रोत साधन बढी भएका मन्त्रालयको समान वितरण, संसदमा कायम रहेको संख्याका आधारमा मन्त्रीको संख्या दिने मापदण्ड तयार गरेको छ ।
तर मन्त्रालयको भागबण्डा मिलाउनका निम्ति सत्ता गठबन्धनको बैठक बस्न सकेको छैन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य स्थितिको कारण देखाउँदै बैठक बस्न नसकेको हो । नेता नेपाल त्रिवि शिक्षण अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् ।