लिभरपुलका स्टार सेन्टर ब्याक भर्जिल भान डाइकले पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनल मेस्सीलाई आफ्नो करियरमा अहिलेसम्म सामना गरेको सबैभन्दा कठिन प्रतिद्वन्द्वी बताएका छन्।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै डच डिफेन्डरले २०१८-१९ सिजनको यूईएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा मेस्सी र बार्सिलोनाको सामना गर्न कती गाह्रो थियो भनेर सम्झिए। उनले भने,”म भन्न चाहन्छु लियोनल मेस्सी। उनी अझै विश्वकै उत्कृष्ट फुटबल खेलाडी हुन्। उनले र रोनाल्डोले पछिल्लो दशक जुन प्रदर्शन गरे र अविश्वसनीय उपलब्धि हाँसिल गरेका छन्, त्यो साँच्चै नै अवास्तविक रहेको छ।”
“तर पनि मेरो लागि मेस्सी अझ उत्कृष्ट हुन्। मेरो लागि मेस्सी सबैभन्दा कठिन प्रतिद्वन्दी हुन् किनकि त्यो दिन बार्सिलोनामा धेरै कठिन साँझ थियो जब हामी ३-० ले हार्यौं। भाग्यवश, हामीले एनफिल्डमा पासा पल्टाउन सफल भयौं,” उनले भने।
लियोनल मेस्सी स्टार थिए जब बार्सिलोनाले २०१८-१९ सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुललाई ३-० ले हरायो। तर लिभरपुलले दोस्रो लेगमा ४-० को जीत निकाल्दै प्रतियोगिता इतिहास कै सबैभन्दा अविश्वसनीय मध्ये एक कमब्याक गर्न सफल भयो। लिभरपुलले त्यो सिजन च्याम्पियन्स लिग जित्यो, जुन क्लबको प्रशिक्षकको रूपमा योर्गन क्लोपको पहिलो उपाधि रहेको थियो।