पहिला टिकटक बनाउँछु भन्दै सुनको सिक्री उछिट्याए, पछि माग्दा उल्टै ब्ल्याकमेल गरे !

काठमाडौँ – ठगी कार्यमा संलग्न रहेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। हनी ट्रयाप शैलीमा एक पुरुषलाई ठगी गरेको आरोपमा काभ्रेका दुइ महिलालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला भनिने युनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया रोशनी भनिने सुनिता तामाङ रहेका छन्। दुवैलाई प्रहरीले काठमाडौँको गोंगबुबाट सोमबार पक्राउ गरेको हो।

के थियो घटना ?

दोलखा मैलुङ गाउँपालिका–४ घर भइ काठमाडौं बौद्ध बस्ने एक पुरुषलाई युनिसा र रोशनीले फोन गरेर भेट्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाएका थिए। खाजा खाना भन्दै उनीहरुले ती पुरुषलाई ट्याक्सीमा राखि ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेजमा पुर्याएका थिए।

कटेजमा हुँदा युनिसाले टिकटक बनाउँछु भनेर ती पुरुषको सुनको सिक्री लिएकी थिइन्। उक्त सिक्री लगाएपछि साथीकोमा जन्मदिन मनाउ जाउँ भन्दै ती पुरुषलाई चापागाउँकै मोक्तान होटल पुर्याएका थिए। पछि युनिसा सुनिता र ती पुरुषलाई होटेलको कोठामा थुनेर बेपत्ता भएकी थिइन्।

महानगरीय अपराध महाशाखाका अनुसार ती पुरुषको सुनको सिक्री २ लाख ५० हजार रुपैंयाँ बराबरको थियो। होटेलबाट भाग्नु अगाडी युनिसाले ती पुरुषलाई विश्वासमा दिलाउन आफ्नो मोबाइल समेत होटलको कोठामै छाडेकी थिइन्। सुनको सिक्री माग्दा ब्ल्याकमेलिङ गर्न थालेपछि ती पुरुषले प्रहरीमा उजुरी दिएका थिए। पक्राउ परेका दुवैलाई महानगरीय प्रहरी परिसर जवालाखेल, ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१८:५७

खातामा पैसा नहुँदा २० लाखको चेक दिएर भागे, अहिले पक्राउ !