एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका पूर्व खेलाडी जोन आर्न रीसेले नर्वेजियन युवा स्टार फुटबलर एर्लिङ हालाण्डलाई भित्र्याउन लिभरपुललाई सुझाव दिएका छन्। एक खेल मिडियालाई अन्तर्वार्ता दिनेक्रममा रीसेले हालाण्डलाई लिभरपुलले भित्र्याउनु पर्ने बताएका हुन्।
‘गोल’लाई अन्तर्वार्ता दिनेक्रममा उनले हालाण्ड लिभरपुल गएको हेर्ने चाहना रहेको बताए। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप र हालाण्डको खेल्ने शैली उस्तै-उस्तै भएको रीसेको भनाई छ। फुटबल क्लबको रुपमा हालाण्डले लिभरपुललाई मन पराउने पनि बताए।
“पक्कै पनि, म हालाण्ड लिभरपुल जाउन् भन्ने चाहन्छु। किनकि उनी एक अविश्वसनीय खेलाडी हुन्। उनी उत्कृष्ट फर्ममा छन्, र मलाई लाग्छ कि उनका लागि योर्गेन क्लोपको फुटबल शैलीमा ठिक हुनेछ।”,रीसेले अन्तर्वार्ताका क्रममा भनेका छन्।
लिभरपुलले हालाण्डलाई म्यानचेस्टर सिटी जानबाट रोक्नुपर्ने पनि रीसेले बताए। उनका अनुसार हालाण्ड सिटी गएको खण्डमा सिटी अविश्वसनीय रुपमा बलियो हुनेछ र सिटीलाई पराजित गर्न कसैले सक्ने छैन।
“सिटीले हालाण्डलाई पायो भने उनीहरु पराजित गर्न नसकिने टीम बन्नेछन्।”,रीसेले भने। हालाण्डलाई जुन टीमले किन्न सक्यो, त्यो टीम धेरै बलियो हुने उनले बताए।
“जो कोहिले हालाण्ड पाउँछ, चाहे त्यो अर्को सिजन होस् वा अन्य सिजन उनीहरु धेरै बलियो हुनेछन्। मलाई लिभरपुलले हालाण्ड किन्न सक्छ कि सक्दैन। तर म उनीहरुले हालाण्ड भित्र्याउन् भन्ने मेरो चाहना छ।”,उनले भने।
हालाण्ड अहिले युरोपका सबै ठूला क्लबका नजरमा छन्। सन् २०१९ को अन्यमा साल्जबर्गबाट डर्टमण्ड गएयता हालाण्डले डर्टमण्डका लागि ६८ गोल गरिसकेका छन्। यति धेरै संख्यामा गोल हालाण्डले मात्र ६७ खेलमा गरेका हुन्।
१० वर्ष भन्दा बढी समय प्रिमियर लिगमा बिताएका रीसे हालाण्डका लागि प्रिमियर लिग उत्कृष्ट हुने बताउँछन्। नर्वेका खेलाडीहरु पहिला प्रिमियर लिगमा उल्लेख्य संख्यामा रहने गरेको भएपनि अहिले त्यो संख्या धेरै नै कम भएको रीसेको भनाई छ।