एजेन्सी – बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङले बार्सिलोना पहिला भन्दा कम्जोर भएपनि बाहिर बढी टिका टिप्पणी भएको बताएका छन्। बार्सिलोनाबाट इन्टरननेसनल ब्रेकका लागि नेदरल्याण्ड फर्किएका उनले बार्सिलोना कम्जोर भएको भएपनि बाहिर अलि बढी टिका टिप्पणी भएको बताएका हुन्।
डी जोङले बाहिर चर्चा भएजस्तो पत्रु अवस्थामा बार्सिलोना नरहेको बताए। लालिगाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा आफूहरु धेरै अंकले पछाडी नरहेको उनको भनाई छ।
लालिगाको शिर्ष स्थानमा अहिले रियल म्याड्रिड छ। रियलले ८ खेलबाट १७ अंक जोडेको छ। बार्सिलोनाले अहिले सम्म ७ खेलेको छ। जसबाट उसले १२ अंक जोडेको छ।
पछिल्ला नतिजाहरु खराब रहेको स्विकार गर्दै डी जोङले बार्सिलोनाको पछिल्लो अवस्थालाई अतिरंजित गरिएको तर्क गरे। उनले भने,”नतीजा खराब छ, कसैले यसलाई बेवास्ता गर्न सक्दैन। तर यसलाई धेरै अतिरंजित गर्ने काम रहेको छ।”
बार्सिलोनाको पछिल्लो अवस्थालाई लिएर आफू निराश भएपनि हार भने खाइनसकेको डी जोङले बताए। इन्टरननेसनल ब्रेकपछि आफूहरु फरक लय सहित फिर्ता हुने विश्वास उनले व्यक्त गरे।
“यो राम्रो भयो कि अहिले ब्रेक छ। अन्तर्राष्ट्रिय खेल पछि जब हामी बार्सिलोनाका खेलहरुमा फर्किने छौँ, स्थिति फरक हुनेछ। आशा छ स्थिति सामान्य हुनेछ”,आशावादी हुँदै डी जोङले भने।
सिजनको शुरुवातमै बार्सिलोना उपाधि होडबाट बाहिरिएको भन्दै भैरहेको चर्चालाई उनले सिधै खारेज गरे। बाहिर चर्चा भएजस्तो आफूहरु उपाधि होडबाट बाहिरिनसकेको उनको भनाई छ।
“मानिसहरु हामी उपाधि होडबाट बाहिरी सक्यौं भनेर हाम्रो अतिरंजना फैलाउने काम गरिरहेका छन्। हामी रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड भन्दा धेरै अंकले पछि छैनौँ। “,डी जोङले भने।