एजेन्सी – युरोपियन च्याम्पियन इटालीको अपराजित यात्रामा पुर्णविराम लगाउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
सान सिरोमा बुधबार राति भएको खेलमा स्पेनले १० खेलाडीमा समेटिएको युरोपियन च्याम्पियन इटालीलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । स्पेनको जितमा दुवै गोल फेरान टोरेसले गरे । घरेलु टोलीका लोरेन्जो पेलिग्रेनीले सान्त्वना गोल फर्काए ।
४२औं मिनेटमा इटाली १० खेलाडीमा समेटिन पुगेको थियो । लियोनाद्रो बोनुची दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो । त्यसअघि १७औं मिनेटमा फेरान टोरेसको गोलबाट स्पेनलेको अग्रता लिएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा टोरेसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए । ८३औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।
यो हारसँगै इटालीको अपराजित यात्रामा पुर्णविराम लागेको छ । इटाली ३७ खेलसम्म अपराजित रहन सफल भएका थिए । सन् २०१८ सेप्टेम्वर १० मा नेसन्स लिगमै पोर्चुगलसँग १–० ले पराजित भएयता इटाली ३८औं खेलमा पराजित हुन पुगेको हो । जसमा २८ जित र ९ बराबरीको नतिजा रहेको थियो । यो अवधिमा इटालीले ९३ गोल गर्दा १२ गोल खाएको थियो ।
यस्तै स्पेनले गत जुन जुलाईमा भएको युरोकपको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भोगेको हारको बदला लिन सफल भएको छ । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि इटालीले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै युरोको फाइनलमा स्थान बनाएको थियो । फाइनलमा निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरी भएपछि इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमै ३–२ ले पराजित गर्दै इटाल िच्याम्पियन बनेको थियो ।
अब स्पेनले बेल्जियम र फ्रान्सबीचको विजेतासँग उपाधिका लागि १० अक्टोवरमा प्रतिस्पर्धा गर्नेछ । बेल्जियम र फ्रान्सबीचको दोस्रो सेमिफाइनल आज राति हुदैछ ।