एजेन्सी – अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेन(पिएसजी) जाने आफ्नो निर्णय गलत नभएको दावी गरेका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा मेस्सीले पिएसजी जाने आफ्नो निर्णय गलत नभएको बताएका हुन्।
फ्रान्स फुटबल म्याक्जिनलाई विशेष अन्तर्वार्ता दिनेक्रममा मेस्सीले पिएसजी गएर आफूले कुनै गल्ती नरहेको र त्यसमा कुनै पश्चताप नरहेको बताए। पूर्ण प्रकाशित हुन बाँकी नै रहेको अन्तर्वार्ताका क्रममा मेस्सीले पिएसजी गएर आफूले गलत नगरेको बताइरहेको देखिएको छ। अन्तर्वार्ताका क्रममा उनले भनेका छन्,”मैले पीएसजी गएर गल्ती गरिनँ।”
मेस्सी नयाँ सिजन शुरु हुनु भन्दा अगाडी बार्सिलोनाबाट पिएसजी पुगेका हुन्। लालिगाका विभिन्न नियमहरुका कारण बार्सिलोनामा नरहन नमिल्ने भएपछि मेस्सीले नयाँ क्लबको खोजि शुरु गरेका थिए। केहि दिन भित्रै मेस्सीको पिएसजी ट्रान्सफर सम्भव भएको थियो।
पिएसजी आएयता मेस्सी केहि संघर्षरत छन्। नयाँ क्लब, नयाँ लिग, नयाँ देश र नयाँ वातावरणमा घुलमिल हुने मेस्सीले कोशिस गरिरहेका छन्। च्याम्पियन्स लिगमा पिएसजीका लागि डेब्यु गोल गरिसके पनि मेस्सीले लिग वानमा भने खाता खोल्न बाँकी नै छ।
पिएसजी आएयता मेस्सीले पाँच खेल खेलिसकेका छन्। जसमा उनले मात्र एक गोल गरेका छन्। उक्त गोल च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर सिटी विरुद्ध आएको थियो।