एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेकी आमा फेजा लमारीले पेरिस सेन्ट जर्मेन(पिएसजी)मा एम्बाप्पेको सम्झौता थप गर्ने विषयमा लगातार कुराकानी भइरहेको खुलासा गरेकी छन्।
एक फ्रेन्च मिडियासँग कुराकानी गर्नेक्रममा लमारीले एम्बाप्पेको सम्झौता थप गर्ने नगर्ने विषयमा आफूहरु र पिएसजीका अधिकारीहरु बीच छलफल भैरहेको बताएकी हुन्।
लमारीले पिएसजीका खेल निर्देशक लियोनार्डोसँग हालसालै कुराकानी गरेको पनि बताइन्। एम्बाप्पेले च्याम्पियन्स लिग जित्नको लागि आफ्नो सबै दिने उनको भनाई छ।
“मैले हिजो लियोनार्डोसँग कुरा गरें। एउटा कुरा यो स्पष्ट छ कि च्याम्पियन्स लिग जित्नक लागि एम्बाप्पेले आफ्नो सबै दिनेछन्।”,एम्बाप्पे पिएसजीलाई च्याम्पियन्स दिलाउनेमा केन्द्रित रहेको संकेत गर्दै उनले भनिन्। प्रमुख कुरा एम्बाप्पेको खुशी रहेको उनले बताइन्।
गएको ट्रान्सफर विन्डोमा एम्बाप्पेले रियल म्याड्रिड जाने बल गरेको बारे पनि उनले मुख खोलेकी छन्। उक्त अन्तर्वार्ताका क्रममा लमारीले सानै देखि एम्बाप्पेको रियल म्याड्रिडमा खेल्ने सपना रहेको बताउँदै समरमा एम्बाप्पेले पिएसजी छाड्ने योजना बनाएको बताइन्। उनका अनुसार एम्बाप्पेले पिएसजी छाड्ने राम्रै प्रयास गरेका थिए।
पिएसजीमा सझ्नौता थप हुने सम्भावना सकिनसकेको लमारीको भनाई छ। एम्बाप्पे र पिएसजी बीच भएको सम्झौतामा नवीकरणको विकल्प रहेका कारण पनि सम्झौता थप हुन सक्ने सम्भावना रहेको उनी बताउँछिन्। एम्बाप्पेको सम्झौता थप हुन्छ-हुँदैन भन्ने कुरा निकट भविष्यमा नै थाहा हुने लमारीको भनाई छ।