एजेन्सी – एटलेटिको म्याड्रिडका उरुग्वेली स्ट्राइकर लुइस सुआरेजले बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानसँग दम र आँट नभएको आरोप लगाएका छन्। एक अन्तर्वार्ताका क्रममा सुआरेजले कोम्यानसँग दम र आँट नभएको बताएका हुन्।
गएको सिजन बार्सिलोनाबाट बहिर्गमन हुनुअगाडी कोम्यानले स्पष्टसँग कुरा राख्ने आँट नगरेको सुआरेजले बताए। कोम्यानले सुआरेजलाई क्लबले नचाहेको हो कि उनले नचाहेको हो भन्ने स्पष्ट पार्न नसकेको सुआरेजको भनाई छ।
सुआरेजका अनुसार गएको सिजन उनलाई कोम्यानले फोन गरेर क्लबमा उनको भविष्य नरहेको बताएका थिए। कोम्यानले ४० सेकेन्डमै कुरा सकाएर फोन काटेको खुलासा पनि सुआरेजले गरे।
“पहिला उनले मलाई म उनको योजनामा नरहेको बताए। र पछि सम्झौता मिलाउन नसके भिल्लारियल विरुद्ध खेलाउँछु भने। उनले सबै कुरा स्पष्ट पार्ने आँट नै गर्न सकेनन्।”,सुआरेजले भने।
कोम्यानले सबै कुरा स्पष्ट पार्न नखोजेको प्रति सुआरेजको चित्त दुखाई छ। उनले भने,”मलाई क्लबले नचाहेको हो कि उनले नचाहेको हो भन्ने स्पष्ट पार्ने दम समेत उनीसँग थिएन।”
आफूले सबै कुरा दिएको क्लबबाट भएको व्यवहारले आफूलाई भित्र सम्म छोएको सुआरेजको भनाई छ। त्यसबेलाको समयलाई सुआरेज धेरै कठिन समयको रुपमा सम्झिन्छन्।
“त्यस समयमा मलाई धेरै नै गार्हो भएको थियो। ती समय मेरा लागि कठिन थिए। किनकी मैले क्लबलाई सबै कुरा दिएको थिएँ। “,बार्सिलोनाले गरेको व्यवहारलाई स्मरण गर्दै सुआरेजले भने।