एजेन्सी – यूईएफए नेशन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा आज राति फ्रान्सले बेल्जियमको सामना गर्दैछ। युरोपियन च्याम्पियनशिलका खासै राम्रो प्रदर्शन गर्न नसकेका फ्रान्स र बेल्जियम बीच आज राति प्रतिष्पर्धा हुन लागेको हो।
खेल नेपाली समय अनुसार १२ बजेर ३० मिनेटमा शुरु हुनेछ। फ्रान्स र बेल्जियमबीच हुने खेलको विजेताले यूईएफए नेशन्स लिग फुटबलको फाइनलमा स्पेनको सामना गर्नेछ। स्पेनले बुधबार राति भएको खेलमा इटालीलाई हराएको थियो। स्पेनले १० खेलाडीमा समेटिएको युरोपियन च्याम्पियन इटालीलाई २–१ ले पराजित गरेको हो।
आज राति हुने खेलमा बेल्जियम सन् २०१८ को विश्वकप सेमिफाइनलमा ब्यहोरेको हारको बदला लिने प्रयासमा हुनेछ। सन् २०१८ को विश्वकपमा फ्रान्सले बेल्जियम पाखा लगाउँदै फाइनल पुगेर विश्वकप जितेको थियो।
हाल फिफा विश्व वरियताको नम्बर एकमा रहेको बेल्जियम अहिले सम्म कुनै उपाधि जित्न सकेको छैन। फ्रान्सलाई पाखा लगाएर यूईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गर्ने दाउमा हुनेछ।
त्यस्तै फ्रान्स पनि युरो कपमा भएको कम्जोर प्रदर्शनलाई बिर्साउने दाउमा आज हुनेछ। बेल्जियमलाई पराजित गरेर फाइनल पुगी यूईएफए नेशन्स लिग जित्ने फ्रान्सको मूख्य प्राथमिकता रहनेछ।
कुन च्यानलमा हेर्ने ?
फ्रान्स र बेल्जियम बीचको खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। उक्त खेल हेर्न नेपालमा भारतीय च्यानलको भर पर्नुपर्ने छ। खेल सोनी च्यानलले प्रशारण गर्नेछ। खेल सोनी टेन २ मा हेर्न सकिनेछ।

