साफ च्याम्पियनसिप: इतिहास मै पहिलो पटक फाइनल खेल्ने नेपालको सम्भावना बलियो !

काठमाडौं – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बिहिबार भएको खेलमा घरेलु टोली माल्दिभ्सले बंगलादेशलाई हराएसँगै नेपालको लागि पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने समीकरण सहज भएको छ ।

बिहिबार माल्दिभ्सले प्रतियोगितामा अपराजित रहेको बंगलादेशलाई २-० ले पराजित गरेसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पकड जमाउन सफल रहयो । माल्दिभ्सले अंक तालिकामा खाता खोल्दै भारतलाई समेत उछिनेको छ । हाल अंक तालिकामा नेपाल २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बंगलादेशले ३ खेल खेल्दै ४ अंक जोडेको छ ।

माल्दिभ्स पहिलो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टोलीले २ खेलमा ३ अंक जोडेको छ । यस्तै भारतले आफ्नो दुवै खेल बराबरी गर्दै २ खेलमा २ अंक जोडेको छ । श्रीलंका ३ खेलमा १ अंकसाथ अंक तालिकाको पुछारमा छ । श्रीलंकाको भने फाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

नेपालले अब लिग चरणका बाँकी दुई मध्य एक खेल जिते शीर्षस्थानमा रहँदै फाइनल पुग्ने पक्का हुनेछ । नेपालले अब प्रतियोगिता अन्तर्गत आइतबार भारत तथा बुधबार बंगलादेशको सामना गर्नेछ । बाँकी रहेका दुवै खेलमा हार नबेहोरे नेपाल फाइनल पुग्ने पक्का छ ।

अर्को खेलमा नेपालले भारतविरुद्ध बराबरी खेलेर माल्दिभ्स र श्रीलंकाबीच खेल पनि बराबरी भए, नेपाल फाइनल पुग्ने लगभग पक्का हुनेछ । श्रीलंकाले माल्दिभ्सलाई हराएर नेपालले भारतसँग बराबरी खेले नेपाल फाइनल पुग्नेछ ।

नेपालले भारतसँग पराजय बेहोरेको अवस्थामा अन्तिम खेलमा बंगलादेशलाई पराजित गरे पुग्नेछ । भारतले भने अब फाइनल पुग्न निकै कसरत गर्नुपर्नेछ । अन्तिम खेलमा नेपाल विरुद्ध बंगलादेश तथा माल्दिभ्स विरुद्ध भारतको खेल समीकरण अनुसार सेमिफाइनल खेलको रुपमा रहने सम्भावना पनि छ ।

प्रकाशित : शुक्रबार, असोज २२, २०७८०८:४०

कता गयो मेस्सीको चमक ? एक गोल पनि गर्न सकेन अर्जेन्टिनाले !