एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि फिनिसिङमा चुक्दा अर्जेन्टिना घरेलु टोली पाराग्वेसँग गोलरहित बराबरीमा रोकिन बाध्य बनेको हो ।
पहिलो मिोटमा नै जियोभानी लो सेल्सोको प्रयासलाई पाराग्वेका गोलरक्षक एन्थोली सिल्भाले बचाए । नवौं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा जोआक्वि कोरेआको प्रहार सदुपयोग हुन नसक्दा अर्जेन्टिनाले अग्रता लिन सकेन । २५औं मिनेटमा मेस्सीको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
४९औं मिनेटमा गुस्ताभो गोमेजको हेडरलाई अर्जेन्टिनी डिफेन्डरले ब्लक गर्दा पाराग्वे अग्रता लिनबाट चुक्यो । ५३औं मिनेटमा मिगुइल अल्मिरोनको प्रयासलाई अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले बचाए ।
६४औं मिनेटमा मेस्सीको पासमा रोड्रिगो डि पलको प्रहार सदुपयोग हुन नसक्दा अर्जेन्टिना चुकचुकायो । त्यसपछि पनि अर्जेन्टिनाले लगातार घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
बराबरीपछि दक्षिण अमेरिकी विश्वकप छनोटमा अपराजित रहेको अर्जेन्टिना ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पाराग्वे १२ अंक जोडेर छैटौं स्थनमा रहेको छ ।
अर्काे खेलमा उरुग्वे र कोलम्वियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
यो बराबरीपछि उरुग्वे १० खेलबाट १६ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा कोलम्विया समान खेलबाटै १४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

