काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नो समूह मिलाउन हम्मे परेको छ । मन्त्रीका आकांक्षी धेरै हुँदा उनलाई समूह मिलाउन गाह्रो भएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
मन्त्रीमा पठाउने नाम टुंगो लगाउन बुधबार आफ्नै निवास बोहराटारमा पौडेलले समूहको बैठक बोलाएका थिए । तर, नेताहरुले पहिले समूहले पाउने मन्त्रालयको संख्या एकिन गर्न दबाब दिएपछि छलफल बिनानिष्कर्ष टुंगिएको थियो । छलफलमा नेता पौडेलले मन्त्रिपरिषद्का लागि सांसद तेजुलाल चौधरीको नाम प्रस्ताव गरेका थिए ।
यस्तै महामन्त्री डा. शशांक कोइरालाले डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका थिए । आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका अर्का नेता प्रकाशमान सिंहले भने काठमाडौंका सांसद राजन केसीलाई मन्त्री बनाउनुपर्ने अडान राखेका थिए । छलफलका क्रममा नेताहरुले आफूनिकट सांसदलाई मन्त्रीमा सिफारिस गर्नुपर्ने अडान लिएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो । बोहोराटारको छलफल बिनानिष्कर्ष टुंगिएपछि बुधबार अपराह्न मन्त्री भागबण्डासहित पार्टी क्रियाशील सदस्यताबारे छलफल गर्न पौडेल समूहका नेता बालुवाटार पुगेका थिए ।
त्यस क्रममा उनीहरूले आफ्ना तर्फबाट तीन मन्त्री पाउनुपर्ने दाबी गरेका थिए । तर, प्रधानमन्त्री देउवाले दुई जनाभन्दा बढीलाई मन्त्री बनाउन नसकिने जवाफ दिएपछि पौडेल समूहका नेता नामै नदिएर बैठकबाट बाहिरिएका थिए ।
मन्त्रीका लागि सिफारिस गर्ने नामबारे पौडेल समूहले बिहीबार कुनै छलफल नगरेको स्रोतले जनाएको छ । पार्टीमा भाग परेकामध्ये दुई मन्त्रालय वरिष्ठ नेता पौडेल समूहलाई दिने मनस्थिति प्रधानमन्त्री देउवाले बनाएपछि कांग्रेसमा मन्त्री बन्ने संख्या र नाममा विवाद देखिएको छ ।
सत्ता गठबन्धनका चार दलबीच भएको सहमतिअनुसार कांग्रेसको भागमा आठ मन्त्री र एक राज्यमन्त्री परेका छन् । जसमध्ये तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन् । कांग्रेसबाट सरकारमा सहभागी बालकृष्ण खाँण (गृहमन्त्री), ज्ञानेन्द्रबहादुर कार्की (कानुन, न्याय तथा संसदीय मामिलामन्त्री), नारायण खड्का (परराष्ट्रमन्त्री) र उमेश श्रेष्ठ (स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री) सबै देउवानिकट हुन् ।
अब कांग्रेसको भागमा चार मन्त्री बाँकी छन् । यीमध्ये पौडेलको समूहले तीन मन्त्री मागेपछि कुरा नमिलेको हो । प्रधानमन्त्री देउवा पौडेल समूहलाई दुइटा मात्रै र एउटा मन्त्री पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई दिने पक्षमा रहेको एक जना कांग्रेस नेताले बताए ।
सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने तय भइसकेको नेताहरूको दाबी छ । बाँकी एक मन्त्रालय भने आफ्नै पक्षमा राख्ने देउवाको दाउ छ । एक कांग्रेस नेताका अनुसार आफ्नो समूहबाट देउवाले पुष्पा भुसाललाई मन्त्री बनाउने योजना बनाएका छन् । पौडेल समूहले मागेअनुसार मन्त्री नपाए डा. रिजाल र चौधरीको नाम सिफारिस हुन सक्ने प्रवल सम्भावना रहेको बोहराटारनिकट स्रोतले जनाएको छ । ‘तीन मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो माग हो । मागेको पाइएन भने डा. मिनेन्द्र र तेजुलालजीको नाम सिफरिस हुने सम्भावना अधिक छ,’ स्रोतले भन्यो ।