काठमाडौं । भागवण्डामा चार मन्त्री मात्रै पाउने भएपछि असन्तुष्ट रहेको गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीलाई दुई मुख्यमन्त्री दिएर थामथुम पारिएको छ । संघीय मन्त्रिपरिषद्को विस्तारलाई अन्तिम रुप दिन बसेको सत्ता गठबन्धनको बिहीबारको बैठकले प्रदेश १ र बागतमी प्रदेशका आगामी मुख्यमन्त्रीको विषय भने टुंगो लगाएको हो । अब ती दुवै प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
बैठकमा सहभागी एक शीर्ष नेताका अनुसार, असन्तुष्ट एकीकृत समाजवादीको ‘चित्त बुझाउन’ ती दुवै प्रदेशको मुख्यमन्त्री सोही पार्टीलाई दिन लागिएको हो । ती दुवै प्रदेशमा अहिले एमालेका नेताहरु भीम आचार्य र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छन् । तर, दल विभाजनका कारण उनीहरुले केही दिनभित्रै विश्वासको मत लिनुपर्ने बाध्यता छ । उनीहरुले आवश्यक मत पु¥याउन सक्ने सम्भावना भने असम्भवप्रायः छ ।
प्रदेश १ मा एकीकृत समाजवादीका संसदीय दलको नेतामा राजेन्द्र राई छन्, बागमती प्रदेशमा राजेन्द्र पाण्डे । राई भदौ २६ गतेको संसदीय दलको बैठकबाट नेता चयन भएका थिए । पाण्डे भने भदौ २७ गते बसेको संसदीय दलको बैठकबाट नेता चयन भएका हुन् । एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री पाउने सहमति भएसँगै ती दुई प्रदेशमा दुई राजेन्द्रले अवसर पाउने निश्चित जस्तै भएको हो । सत्ता गठबन्धनबीच बिहीबारको सहमति नउल्टिए उनीहरु केही दिनभित्रै मुख्यमन्त्री बन्नेछन् ।
प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री बदलिने भए पनि कांग्रेस र एकीकृत समाजवादीबीच भागबण्डा हुने आकलन गरिएको थियो । तर, संघीय सरकारमा कम मन्त्रालय पाएको एकीकृत समाजवादीले दुई प्रदेश सरकार पाउने सहमति बनेको हो । प्रदेशबाटै भए पनि, अबको केही दिनमै नवगठित एकीकृत समाजवादीले सत्ताको नेतृत्व–यात्रा सुरु गर्नेछ ।
राई भोजपुरका हुन् । २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा उनले भोजपुर १ (क) बाट संघीय समाजवादी फोरमका अजम्बर राई कामबाङलाई पराजित गरेका थिए । राईले १९ हजार २९७ मत पाएका थिए भने कामबाङले ११ हजार ५४१ मत पाएका थिए ।
राई विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी २०५७ पछि दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष बनेका थिए । २०७४ सालमै प्रदेशको मुख्यमन्त्रीको दौडमा रहेका शेरधन राई र भीम आचार्यबीच टक्कर हुँदा राजेन्द्र राईलाई पनि मुख्यमन्त्रीको रुपमा चर्चामा आएका थिए । ती दुवै जना मुख्यमन्त्री भइसकेका छन् । त्यतिबेला विकल्पको रुपमा हेरिएका उनी अब भने मुख्यमन्त्रीको कुर्सी छेउमा पुगेका छन् ।