काठमाडौं – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप रोमाञ्चक मोडमा पुगेको छ । सहभागी ५ मध्ये श्रीलंका अन्तिम खेल अघि नै च्याम्पियनसिपबाट बाहिरिएको छ । नेपाल, बंगलादेश, माल्दिभ्स र भारत गरि ४ टोली उपाधि दौडमा रहेका छन् । बंगलादेश र श्रीलंकाले समान ३ खेल खेल्दा बाँकी ३ टोलीले भने समान २ खेल मात्र खेलेका छन् ।
श्रीलंकालाई बिहीबार २–० ले हराउँदै माल्दिभ्स उपाधि दौडमा फर्कंदा साफ च्याम्पिनसिपको सर्वाधिक सफल टोली भारत भने दबाबमा परेको छ । लगातार दोस्रो बराबरीपछि भारतलाई फाइनल यात्रा चुनौतीपूर्ण बनेको छ । पहिलो खेलमा बंगलादेशसँ १–१ को बराबरी खेलेको भारत बिहीबार श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको थियो । अब बाँकी दुई खेलमा भारतमाथि जित्नै पर्ने दबाब बढेको छ । भारतले बाँकी दुई खेल जितेको अवस्थामा मात्र फाइनल यात्रा सुनिश्चित हुन्छ ।
लगातार २ खेल जितेको नेपाल फाइनल यात्राका लागि सबैभन्दा बलियो दाबेदार देखिएको छ । तर त्यसका लागि भारतविरुद्धको खेल नेपालका लागि पनि महत्वपूर्ण हुने देखिएको छ । भारतलाई हराउन सकेको अवस्थामा नेपाल अन्तिम खेल अघि नै पनि फाइनल पुग्न सक्नछ । नेपाल र भारत खेल्नु अघि नै आयोजक माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । त्यो नतिजाले पनि फाइनल समिकरणमा प्रभाव पार्नेछ । त्यो खेलमा माल्दिभ्स विजयी भएमा टोलीको अंक ६ पुग्नेछ ।
भारतसँग बराबरी रोकिए वा पराजित भएपछि नेपालको फाइनल पुग्ने सम्भावना भने यथावत रहनेछ । अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । बंगलादेशका लागि पनि त्यो खेल निकै महत्वपूर्ण हुनेछ । अन्तिम खेलअघि बंगलादेशको ४ अंक छ । भारत नेपालसँग पराजित भएमा वा बराबरीमा रोकियो भने उसका लागि फाइनल पुग्न निकै कठिन हुनेछ । सन् १९९३ बाट सुरु भएको साफ च्याम्पियनसिप इतिहासमा नेपालले सबै भन्दा सुखद सुरुवात यसै पटक गरेको छ । नेपाल पहिलो पटक सुरुवाती दुई खेलमा विजयी भएको छ ।
यसपटक उपाधि दौडमा रहेको ४ टोलीमध्ये नेपालले मात्र अहिले सम्म साफ च्याम्पिनयसिप जित्न सकेको छैन । अझ नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ भने माल्दिभ्सले २ र बंगलादेशले १ पटक जितेको छ । त्यसबाहेक श्रीलंका र अफगानिस्तानले समान १ पटक साफ च्याम्पियनसिप जितेको छ । अफगानिस्तान सन् २०१५ पछि साफबाट अलग भइसकेको छ । नेपालसँग पाकिस्तान र भुटानले अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेका छैनन् ।
तेस्रो चरण सकिँदा अंक तालिका

साफ च्याम्पिनयसिपको नतिजा र खेल तालिका
असोज १५ गते
श्रीलंका ० बंगलादेश १
नेपाल १ माल्दिभ्स ०
असोज १८ गते
बंगलादेश १ भारत १
श्रीलंका २ नेपाल ३
असोज २१ गते
भारत ० श्रीलंका ०
माल्दिभ्स २ बंगलादेश ०
असोज २४ गते
माल्दिभ्सविरुद्ध श्रीलंका
नेपालविरुद्ध भारत
असोज २७ गते
बंगलादेशविरुद्ध नेपाल
भारतविरुद्ध माल्दिभ्स
फाइनल असोज ३० गते
समूह विजेता र उपविजेता

