एजेन्सी – युइएफए नेसल्स लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। युइएफए नेसल्स लिगको फाइनल सहित आज दुई खेल हुन लागेका हुन्। युइएफए नेसल्स लिगको फाइनलमा फ्रान्स र स्पेन भिड्दै छन् भने तेस्रो स्थानका लागि बेल्जियम र इटाली बीच प्रतिष्पर्धा हुनेछ।
युइएफए नेसल्स लिग उपाधिका लागि भिड्दै गरेको स्पेनले इटालीलाई पाखा लगाएको थियो भने फ्रान्सले बेल्जियमलाई। गएको हप्ता इटाली र स्पेन बीच भएको सेमिफाइनलमा स्पेन २-१ गोल अन्तरले विजयी भएको थियो।
खेलको पहिलो हाफमा नै स्पेनले दुई गोल गरेको थियो। खेलको ४२ औं मिनेटमा रेडकार्ड बेहोर्दै मैदानबाट लियोनार्डो बोनुची बाहिरिएका थिए। इटाली १० खेलाडीमा सिमित भएपनि स्पेनले गोल थप्न सकेको थिएन। उल्टै खेलको ८३ औं मिनेटमा गोल बेहोरेको थियो।
त्यस्तै बेल्जियममाथि पूनरागमन जित निकाल्दै फ्रान्स फाइनलमा प्रवेश गरेको हो। पहिलो हाफमै दुई गोलले पछि परेको अवस्थामा समेत फ्रान्सले बाजी मारेको थियो। फ्रान्सले दोस्रो हाफमा तीन गोल गरेको थियो। फ्रान्सको पूनरागमन जितमा करिम बेन्जेमा, केलियन एमबाप्पे र हर्नान्डेजले गोल गरेका थिए।
युइएफए नेसल्स लिग उपाधिका लागि हुने खेल नेपाली समय अनुसार राति १२ बजेर ३० मिनेटमा शुरु हुनेछ। स्पेन र फ्रान्स बीचको खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल सोनी टेन २ च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछ।

