जारी साफ च्याम्पियन्ससिपमा नेपालले पहिलो हारे बेहोरेको छ। माल्दिभ्समा जारी प्रतियोगितामा भारतसंग १-० ले पराजित भएको नेपालको यो पहिलो हार हो। पहिलो दुई खेलमा दुबै खेल जितेको नेपाल भारतसंग भने स्तब्ध हुन पुग्यो।
आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १-० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंका माथि ३-२ को संघर्षपूर्ण जीत निकालेको थियो। भारतले भने बंगलादेश र श्रीलंका दुबैसंग बराबरी खेलेको थियो। पहिलो हाफ बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतको जीत पक्का गरेका हुन्।
यससंगै तीन खेलबाट ६ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा चिप्लिएको छ भने तीन खेलबाट नै ५ अंक जोड्न सफल भएको भारत तेस्रो स्थानमा रहेको छ। आजै भएको पहिलो खेलमा श्रीलंका माथि १-० को जीत निकालेको आयोजक माल्दिभ्स ३ खेलमा ६ अंकका साथ पहिलो स्थानमा रहेको छ।
लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ भने भारत र माल्दिभ्सले एक-अर्काको सामना गर्नेछन्। लिग चारणमा अंक तालिकाको शीर्ष दुई टोली फाइनलमा उपाधिका लागि भिड्नेछन्।
आजको हार संगै फाइनल प्रवेशका लागि नेपाललाई अन्तिम खेल जोगाउनु पर्ने भएको छ। यदि बंगलादेश विरुद्धको खेल हारेको खण्डमा नेपालको फाइनलमा पुग्ने सम्भावना समाप्त हुनेछ। त्यस्तै, अन्तिम खेल बराबरी मात्र गर्न सकेको खण्डमा पनि नेपाल फाइनलमा प्रवेश गर्नेछ।

