एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सी, रोड्रिगो डि पउल र लोउटारो मार्टिनेजले गोल गरे । जियोभानी लो सेल्सोले दुई असिस्ट मार्टिनेजले एक गोलसँगै एक असिस्ट प्रदान गरे । ब्युनर्स आयर्समा सोमबार बिहान भएको खेलमा घरेलु टोलीले खेलको सुरुवातदेखि नै बल पोसेसन राख्दै पाहुना टोली उरुग्वेलाई दवाव बढाएको थियो ।
सातौ मिनेटमा लुइस सुआरेजले गोलरक्षक इमिलियानो मार्टिनेजलाई बिट गरेपनि प्रहार गर्न नसकेको बललाई फेडे भाल्र्भेडेको प्रहारलाई बचाउँदै अर्जेन्टिनाको खतरा टारे । २२औं मिनेटमा नाहितान नान्डेजको क्रसमा माटिएस भिनाको भली पासमा लुइस सुआरेजको प्रहारलाई गोलरक्षक मार्टिनेजले सुन्दर बचाउँ गर्दा उरुग्वे अग्रता लिनबाट चुक्यो ।
२६औं मिनेटमा रोड्रिगो डि पउलको पासमा लोउटारो मार्टिनेजको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा अर्जेन्टिना अग्रता लिनबाट चुक्यो । २८औं मिनेटमा डि ला क्रुज र भिसिनोको समन्वयमा बनेको मुभमा सुआरेजको प्रहारमा पोस्ट बाधक बन्यो । ३४औं मिनेटमा मेस्सीको पासमा जियोभानी लो सेल्सोको प्रहारलाई उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले बचाए ।
३८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिजालाई १–० को अग्रता दिलाए । उनले जियोभानी लो सेल्सोको पासलाई सदुपयोग गरेका थिए । ४४औं मिनेटमा रोड्रिगो डि पउलले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए । रोड्रिगोले लोउटारो मार्टिनेजको पासमा गोल गर्न सफल भएका थिए ।
६२औं मिनेटमा लोउटारो मार्टिनेजले जियोभानी लो सेल्सोको पासमा गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा अर्जेन्टिना विजयी हुन सफल भयो ।
यो जितसँगै छनोटमा अपराजित रहेको अर्जेन्टिना १० खेलबाट २२ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । अर्जेन्टिना शीर्षस्थानको ब्राजिलसँग ६ अंकले पछि छ । ब्राजिलको समान खेलबाट २८ अंक छ । पराजित उरुग्वे १६ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । समान १६ अंक नै रहेपनि इक्वेडर तेस्रो स्थानमा रहेको छ ।

