५ पटक जब मेस्सी-नेयमारको जोडीले विपक्षी टोलीलाई तोरीका फूल देखाईदिए !

६ पटकका ब्यालुन डी ओर विजेता लियोनल मेस्सीले हालै मात्र फ्रेन्च क्लब पीएसजीसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। २१ वर्ष क्याटालान क्लब बिताएपछि फ्रेन्च क्लब प्रस्थान गरेका मेस्सीको पुनः एक पटक पूर्व टिममेट नेइमारसँग मिलन हुने भएको छ।

मैदानका साथै मैदान बाहिर पनि निकै राम्रो सम्बन्ध भएका यी दुई खेलाडीको जोडीले बार्सिलोनामा हुँदा निकै तहल्का मच्चाएका थिए। आज हामी मेस्सी र नेइमारको जोडीले च्याम्पियन्स लिग प्रतियोगितामा विपक्षीलाई ध्वस्त पारेको ५ अदाहरणको बारेमा कुरा गर्दै छौं।

५. बार्सिलोना ७-० सेल्टिक, १३ सेप्टेम्बर २०१६ 

सेल्टिकको क्लब इतिहासमा सबैभन्दा लज्जास्पद हारमा मेस्सी र नेइमारको ठूलो भूमिका रहेको छ। उक्त खेलमा बार्सिलोनाका लागि ह्याट्रिक गर्न सफल भएका थिए भने ब्राजिलियन सुपरस्टार नेइमारले उत्कृष्ट फ्री-किक गोलका साथै ४ असिस्ट पनि प्रदान गरेका थिए। बार्सिलोनाले गरेको सात गोलमा हरेक गोलमा मेस्सी वा नेइमारको संलग्नता रहेको थियो।

४. बार्सिलोना ३-१ आर्सनल, १६ मार्च २०१६ 

पहिलो लेगमा मेस्सीको दुई गोलको मद्दतमा २ गोल अन्तरको जीतका साथ दोस्रो लेगमा मैदानमा उत्रिएको बार्सिलोनाले उक्त खेलमा आर्सनललाई आछु-आछु पारेको थियो। खेलमा बार्सिलोना ३-१ गोल अन्तरले विजयी भयो। जसमा नेइमार र मेस्सी दुबैले एक-एक गोल गर्न सफल भएका थिए।

३. बार्सिलोना ३-१ पीएसजी, १० डिसेम्बर २०१४ 

२०१४/१५ सिजनको च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा पीएसजी मेस्सी-नेइमारको उत्कृष्ट जोडीको शिकार बन्न पुग्यो। ज्लाटान इब्राहिमोभिकले पीएसजीका लागि पहिले अग्रता लिए पनि त्यसपछि भने पूरै तरिकाले मेस्सी-नेइमार शो देख्न मिलेको थियो। बार्सिलोनाको ३-१ को जीतमा मेस्सी र नेइमारले एक-एक गोल गर्न सफल भए।

२. बार्सिलोना ४-० म्यानचेस्टर सिटी, १९ अक्टोबर २०१६ 

समूह चरणको खेलमा पेपको टोली म्यानचेस्टर सिटीले बार्सिलोनासँग ४-० को लज्जास्पद हार बेहोर्न बाध्य भयो। खेलको पहिलो गोल बार्सिलोनाका जर्सी नम्बर १० मेस्सीले गरेका थिए। खेलमा उत्कृष्ट लयमा देखिएका मेस्सीले थप २ गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे। उत्कृष्ट देखिएका नेइमारले पेनाल्टीबाट चुके पनि त्यस लगत्तै उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई ४-० को जीत दिलाए।

१. बार्सिलोना ३-० बार्यन म्युनिख,  ६ मे २०१५ 

खेलअघि बार्यन गोलकिपर मानुएल नुएरले मेस्सीलाई च्यालेन्ज गरेका थिए। तर जब दुई क्लब मैदानमा उत्रिए तब पूरा खेलमा मेस्सी-नेइमारको जादुमय शो देखिएको थियो। ७६ औं मिनेटसम्म गोलरहित बराबरीमा रहेको खेल ७९ औं मिनेटसम्म मेस्सीले दुई उत्कृष्ट गोल गर्दै २-० को स्थितिमा पुर्याएका थिए। जसपछि खेलको अन्तिम समयमा मेस्सी कै असिस्टमा नेइमारले सुन्दर गोल गर्दै ३-० को जीत पक्का गरेका थिए।

प्रकाशित : सोमबार, असोज २५, २०७८१५:४८

एम्बाप्पे भन्दा नेयमार उत्कृष्ट खेलाडी भन्नु मूर्खता हो !