गठबन्धनकै विवादले लम्बियो शाक्यको सत्ता

हेटौँडा । बागमतीको गठबन्धनमा मुख्यमन्त्रीलाई लिएर एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच सहमति हुन नसकेपछि अष्टलक्ष्मी शाक्यको सत्ता लम्बिएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

सभामुख सानुकुमार श्रेष्ठले बोलाएको सर्वदलीय बैठकमा दलहरूबीच दसैँपछि विश्वासको मत लिने सहमति बनेको कांग्रेस संसदीय दलका सचिव निमा लामा बताउँछन् । गठबन्धनमा मुख्यमन्त्री नटुगिएकाले ४ कात्तिकमा बैठक सारिएको हो ।

कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा पनि दलहरूले दसैँपछि नै मतविभाजन प्रक्रिया अघि बढाउने धारणा राखेका थिए । सत्तापक्षले दसैँपछि मतविभाजन गरौँ भने प्रस्ताव गरेपछि सबै दलले यसमा सहमति जनाएको कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिए । सत्तापक्षले प्रदेश प्रमुखसमक्ष पनि हप्ता दिनपछि मात्रै मतविभाजन गर्नका लागि अनुरोध गरेको थियो । एकीकृत समाजवादीका नेता पाण्डेले भने दशैंअघि नै प्रक्रिया टुंग््याउनुपर्ने धारणा राखेका थिए ।

प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको बताइएको छ । तर, कांग्रेस बागमती प्रदेशले भने केन्द्रमा भएको भनिएको सहमतिको लिखित पत्र देखाउनुपर्ने अडान लिएको छ । आतबार शाक्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव टेबुल गराएकी छन् । तर, उनको सत्ता भने लम्बिएको छ । बागमतीका सभामुख सानुकुमार श्रेष्ठले कात्तिक ४ गतेसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेपछि शाक्यको प्रस्तावमा त्यसपछि मात्र मत विभाजन हुने भएको छ ।

विश्वासको मत नपाउने निश्चित प्रायः भएका कारण कार्तिक पहिलो हप्ता गठबन्धन सरकार बन्ने सम्भावना रहेको नेताहरू बताउँछन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन खोजेपछि कांग्रेस बागमतीले विगतदेखि नै असहमति राख्दै आएको थियो । केन्द्रमा भएको भनिएको सहमतिविपरीत बागमतीमा कांग्रेसले अडान लिएपछि पाण्डेलाई अवरोध सिर्जना हुने देखिएको छ ।

प्रकाशित : सोमबार, असोज २५, २०७८०९:५०

लगातार बढिरहेको सुनको मूल्य घट्यो !