एजेन्सी– जेमी भार्डी र पाट्सन डाकाले खेलको अन्त्यतिर गोल गरेपछि प्रिमियर लिगमा शनिबार लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४–२ को सानदार जित निकालेको छ । यो हारसँगै युनाइटेडको अवेमा २९ खेलको अपराजित याात्राको अन्त्य भएको छ ।
खेलमा अग्रता लिएर पनि जोगान नसक्दा युनाइटेड स्तब्ध बन्यो । मासन ग्रिनउडले १९ औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको १२ मिनेटपछि योरी टेलिमन्सले बराबरी गोल फर्काएका थिए । युनाइटेडका खेलाडीको कमजोरीको फाइदा उठाउँदै उनले गोल गरेका थिए ।
घरेलु टोलीका लागि ७८ औं मिनेटमा काग्लार सोन्चुले नजिकबाट गोल गर्दा युनाइटेड २–१ ले पछि पर्यो । त्यसको चार मिनेटपछि मार्कोस रासफोर्डले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । भिक्टर लिन्डोफोडको लामो पासमा रासफोर्डले सिजनको पहिलो गोल गरेका हुन् ।
त्यसको एक मिनेटपछि नै भार्डीले हाफ भलीमा सिजनको गोल गरे भने इन्जुरी समयमा डाकाले गोल गरेपछि लेस्टरले सानदार जित दर्ता गर्यो । डाका प्रिमियर लिगमा गोल गर्ने पहिलो जाम्बियन खेलाडी बनेका छन् । ११ अंक पुगेको लेस्टर ११ औं स्थानमा उक्लेको छ । १४ अंकका साथ युनाइटेड अंकतालिकाको पाँचौं स्थानमा छ ।

