काठमाडौँ – कार्तिक महिनाको पहिलो दिन नै सुनको मूल्य बढेको छ। दशैंको लागि बन्द भएको सुनको कारोबार खुलेको पहिलो दिन नै बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ३ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै तेजाबी सुनको मूल्य भने तोलामा ६ सय ५० रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९० हजार ८ सय रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।
सुन लगभग ६ हप्ताकै महँगो
आजको वृद्धिसँगै नेपाली बजारमा सुन लगभग ६ हप्ताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज भदौ २२ गते अर्थात ४१ दिन यताकै महँगो हो। त्यसदिन छापावाला सुन ९१ हजार ४ सय र तेजाबी सुन ९० हजार ९ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यसदिन पछि आज जति सुन महँगो कहिले पनि भएको थिएन।
चाँदी
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु ४५ ले बढेर १ हजार २ सय २५ रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

