बार्सिलोनालाई ठूलो राहत: मेस्सीको भूमिकामा फाती !

एजेन्सी – सिजनको शुरुवात देखि नै कम्जोर प्रदर्शन गरिरहेको क्याटलान क्लब बार्सिलोनाले राहत पाएको छ। गएको केहि खेलमा जित निकाल्न संघर्षरत बार्सिलोनाले विभिन्न खेलाडीहरु पहिलो टोलीमा फिर्ता भएसँगै राहत पाएको हो।

आइतबार राति ला लिगामा बार्सिलोनाले घरेलु मैदानमा भ्यालेन्सिया माथि जित निकाल्यो। आन्सु फाती, मेम्फिस डिपाए र फिलिपे कोउटिन्होले गोल गर्दा बार्सिलोना ३–१ ले विजयी भयो।

खेलको शुरुवातमै पछि परेको अवस्थामा समेत बार्सिलोना नतिजा उल्ट्याउन सफल भएको थियो। जोसे गायाले पाँचौं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएपनि फातीले बराबरी गोल फर्काए।

चोटका कारण कयौं महिना मैदान बाहिर रहेर फर्किएपछि फाती आइतबार पहिलो पटक शुरुवाती ११ मा परेका थिए। लियोनेल मेस्सीले क्लब छाडेपछि १० नम्बरको जर्सी पाएका फातीले आइतबार आफ्नो जिम्मेवारी पूरा गरे। डिपाएले पेनाल्टी बक्स भित्रबाट दिएको पासलाई फातीले बक्स बाहिरबाट सिधै गोलपोस्टको बाटो देखाए।

भ्यालेन्सिया विरुद्ध फातीले धेरै नै राम्रो प्रदर्शन गरे। उनको उच्च प्रदर्शनकै कारण बार्सिलोनाले भ्यालेन्सियालाई दबावमा राख्न सफल भएको थियो। फातीको यस लयले पक्कै पनि बार्सिलोना समर्थकहरुलाई उत्साहित बनाएको छ। फातीको प्रदर्शन स्पेनिस मिडियाहरुले उच्च प्राथमिकता दिएका छन्। उनीहरुले फातीलाई बार्सिलोनाको रक्षक भनेका छन् भने फातीले मेस्सी भूमिका निभाएको टिप्पणी गरेका छन्।

सर्जियो अगुएरोको डेब्यू

आइतबारको खेल बार्सिलोनाका लागि सर्जियो अगुएरोका कारण पनि सुखद रह्यो। म्यानचेस्टर सिटीब्गता फ्री ट्रान्सफरमा बार्सिलोना आएका उनी सिजनको शुरुवातमै घाइते भएका थिए। तर आइतबार उनले लगभग ४ महिना पछि डेब्यू गरे।

कोउटिन्होको गोल

लिभरपुलबाट बार्सिलोना जाँदा फिलिपे कोउटिन्होसँग जे अपेक्षा गरिएको थियो, त्यो कहिले पनि हुन सकेन। उनले बार्सिलोना पुगेपछि पहिला जस्तो प्रदर्शन गर्न नै सकेनन्। त्यति मात्र नभई उनी लगातार घाइते पनि भइरहे। गएरातिको खेलमा भने उनले गोल गरे। उनले भ्यालेन्सिया विरुद्ध खेल सकिन ५ मिनेट बाँकी रहँदा गोल गरेका थिए। सो गोल कोउटिन्होका लागि विशेष थियो, उनले गएको नोभेम्बर पछि पहिलो पटक गोल गरेका थिए।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८१६:४०

सलाहलाई चाहियो रोनाल्डो भन्दा बढी पारिश्रमिक, डिमाण्ड सुन्दा अचम्म लाग्न सक्छ ! कति ?