एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आरबी लाइपजिङको सामना गर्दैछ। च्याम्पियन्स लिग अन्तर्गत समूहचरणको तेस्रो खेलमा पिएसजीले लाइपजिङको सामना गर्न लागेको हो।
खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने खेलमा दुवै टोली जीतको खोजिमा हुनेछन्। च्याम्पियन्स लिगको समूह ‘ए’मा रहेका पिएसजी र लाइपजिङ एकअर्कालाई हराउने पक्षमा हुनेछन्।
लाइपजिङ प्रतियोगिताको पहिलो जितको खोजिमा हुँदा पिएसजी दोस्रो जितको खोजिमा हुनेछ। यस अगाडीका दुई खेल मध्ये दुवै खेलमा लाइपजिङले हारेको छ भने पिएसजीले एक खेलमा जित निकाल्दै एक खेलमा बराबरी खेलेको छ।
पिएसजी क्लब ब्रुगसँग बराबरीमा रोकिन पुगेको थियो भने म्यानचेस्टर सिटी विरुद्धको खेलमा विजयी भएको थियो। त्यस्तै लाइपजिङ भने ब्रुग र सिटी दुईसंग पराजित भएको थियो। पिएसजी समूह ‘ए’को शिर्ष स्थानमा रहँदा लाइपजिङ भने समूहको पुच्छरमा छ।
गएको सिजन जर्मन बुन्डेस्लिगामा बलियो प्रदर्शन गरेको लाइपजिङ नयाँ सिजन शुरु भएपछि कम्जोर देखिएको छ। बुन्डेस्लिगाको दोस्रो स्थानमा सिजनको अन्त्य गरेपनि नयाँ सिजन शुरु भएपछि उसले बुन्डेस्लिगामा ८ खेल खेल्दा मात्र ३ जित निकाल्न सकेको छ। यता पिएसजी भने घरेलु लिगमा उच्च लयमा देखिन्छ। नयाँ सिजन शुरु भएपछि लिग वानका १० खेल खेल्दा पिएसजीले मात्रै १ खेलमा पराजय भोगेको छ।
खेल कुन च्यानलमा हेर्ने ?
पिएसजी र लाइपजिङ बीचको खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। खेल हेर्न भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल सोनी टेन १ च्यानलमा हेर्न सकिनेछ।