नेयमार पिएसजीको स्क्वाडबाट आउट, मेस्सी र एम्बाप्पेको भरमा पिएसजी !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलीयन स्टार नेयमारले च्याम्पियन्स लिग अन्तर्गत आरबी लाइपजिङ विरुद्धको खेल गुमाउने भएका छन्। इन्टरनेसनल ब्रेकका क्रममा घाइते भएका कारण नेयमारले लाइपजिङ विरुद्धको खेल गुमाउने भएका हुन्।

नेयमार विश्वकप छनौटका लागि उरुग्वे विरुद्ध भएको खेलमा घाइते भएका थिए। ब्राजिलले उरुग्वेलाई ४-१ ले पराजित गर्दा १ गोल समेत गरेका नेयमार उक्त खेल पछि फिट छैनन्।

लाइपजिङ विरुद्धको खेलमा उनी उपलब्ध हुने आशा गरिएपनि उनी मैदानमा नउत्रिने पक्का भएको छ। लाइपजिङ विरुद्धको खेलमा आज पिएसजीको मेस्सी-नेयमार-एम्बाप्पे ट्रियो देख्न पाइनेछैन।

आजको खेलमा मेस्सी र एम्बाप्पे बीचको तालमेल देख्न पाइनेछ। म्यानचेस्टर सिटी विरुद्ध गोल गर्दै मेस्सीले खाता खोल्दा एम्बाप्पेले असिस्ट दिएका थिए। मेस्सी र एम्बाप्पे बीच के कति तालमेल मिल्ने हो त्यो हेर्न रातको १२ बजेर ४५ मिनेट सम्म कुर्नुपर्नेछ।

कसले मार्ला बाजी ?

खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने खेलमा दुवै टोली जीतको खोजिमा हुनेछन्। च्याम्पियन्स लिगको समूह ‘ए’मा रहेका पिएसजी र लाइपजिङ एकअर्कालाई हराउने पक्षमा हुनेछन्।

लाइपजिङ प्रतियोगिताको पहिलो जितको खोजिमा हुँदा पिएसजी दोस्रो जितको खोजिमा हुनेछ। यस अगाडीका दुई खेल मध्ये दुवै खेलमा लाइपजिङले हारेको छ भने पिएसजीले एक खेलमा जित निकाल्दै एक खेलमा बराबरी खेलेको छ।

पिएसजी क्लब ब्रुगसँग बराबरीमा रोकिन पुगेको थियो भने म्यानचेस्टर सिटी विरुद्धको खेलमा विजयी भएको थियो। त्यस्तै लाइपजिङ भने ब्रुग र सिटी दुईसंग पराजित भएको थियो। पिएसजी समूह ‘ए’को शिर्ष स्थानमा रहँदा लाइपजिङ भने समूहको पुच्छरमा छ।

गएको सिजन जर्मन बुन्डेस्लिगामा बलियो प्रदर्शन गरेको लाइपजिङ नयाँ सिजन शुरु भएपछि कम्जोर देखिएको छ। बुन्डेस्लिगाको दोस्रो स्थानमा सिजनको अन्त्य गरेपनि नयाँ सिजन शुरु भएपछि उसले बुन्डेस्लिगामा ८ खेल खेल्दा मात्र ३ जित निकाल्न सकेको छ। यता पिएसजी भने घरेलु लिगमा उच्च लयमा देखिन्छ। नयाँ सिजन शुरु भएपछि लिग वानका १० खेल खेल्दा पिएसजीले मात्रै १ खेलमा पराजय भोगेको छ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१२:०६

एट्लेटिकोले रोक्न सक्ला सलाह-माने-फर्मिनोको पेलान ?