यस्तो अनुशासनहिन गरेका कारण मेस्सीलाई बालोन डी’ओर दिइन नहुने दावी ! के गरेका थिए ?

एजेन्सी – चेल्सीका पूर्व डिफेन्डर फ्रान्क लेबोइफको भनाईलाई मान्ने हो भने पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेस्सी बालोन डी’ओरका वास्तविक हकदार होइनन्। लेबोइफ मेस्सीलाई बालोन डी’ओरको उपाधि दिइन नहुने बताउँछन्।

यस वर्षको शुरुवातमा मेस्सीले गरेको एक अनुशासनहिन कार्यका कारण उनलाई बालोन डी’ओरको उपाधि दिन नहुने लेबोइफको भनाई छ। गएको जनवरीमा सुपरकोपा डी एस्पानाको फाइनलमा बार्सिलोनाबाट खेल्दा मेस्सीले गरेको अनुशासनहिन कार्य र त्यसपछि उनले पाएको रेडकार्डका कारण मेस्सीलाई बालोन डी’ओरको उपाधि दिइन नहुने लेबोइफले बताए।

एक अन्तर्वार्ताका क्रममा उनले जिनेदिन जिदान रेडकार्ड पाएकै कारण बालोन डी’ओर जित्नबाट बिमुख भएको घटनालाई सम्झिए। सन् २००० र २००६ मा जिदानले रेडकार्ड पाएका कारण बालोन डी’ओर गुमाएको टेलिफुटलाई बताए। त्यसले जिदानलाई बालोन डी’ओर नदिइएको हुँदै अहिले मेस्सीलाई पनि बालोन डी’ओर दिइन नहुने उनको भनाई छ।

“सन् २००० र २००६ मा जिदानले बालोन डी’ओर जित्न सकेनन्। किनकि उनले दुवै वर्षमा रेडकार्ड पाएका थिए।”,लेबोइफले भने,”मेस्सीले स्पेनिस सुपर कपमा अरुलाई मुक्का हानेका कारण रेडकार्ड पाएका थिए। जिदानले रेडकार्डकै कारण बालोन डी’ओर पाएनन्, मेस्सीले पनि पाउनु हुँदैन।”

यस वर्षको बालोन डी’ओर मनोनयन सार्वजनिक भैसकेको छ। केहि हप्ता अगाडी सार्वजनिक भएको मनोनयनमा ३० खेलाडीको नाम अटाएको छ। मनोनयनमा लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, नेयमार, किलियन एम्बाप्पे, करिम बेन्जेमा, मोहम्मद सलाह, एङ्गोलो कान्टे, जर्गिन्हो जस्ता खेलाडीहरुको नाम परेको छ।

मनोनयन सार्वजनिक भएसँगै यस वर्षको बालोन डी’ओरको वास्तविक हकदार को हुन सक्छ भनेर चर्चा शुरु भएको छ। यस विषयमा फुटबल खेलाडी, प्रशिक्षक, पूर्व खेलाडी तथा फुटबलका जानकारीहरु आफ्नो-आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्। अर्जेन्टिनालाई कोपा अमेरिका दिलाएका मेस्सी, उच्च लयमा रहेका लेवान्डोस्की, रोनाल्डो र एकै सिजनमा एक भन्दा बढी उपाधि जितेका जर्गिन्होलाई बालोन डी’ओरको प्रमुख दाबेदारको रुपमा हेरिएको छ।

प्रकाशित : बुधबार, कार्तिक ०३, २०७८०८:००

मेस्सी-एम्बाप्पे बीच गज्जबको तालमेल, पिएसजीको जित !