एजेन्सी – क्याटलान क्लब बार्सिलोनाबाट फ्री ट्रान्सफरमा लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) पुग्दा धेरैको चासो थियो – किलियन एम्बाप्पेसँग उनको तालमेल मिल्ला ? यस्तो प्रश्न उठ्नु जाहेज पनि थियो। पिएसजीका नेयमारसंग मेस्सीले पहिला पनि सँगै खेलिसकेका थिए। तर एम्बाप्पेसँग भने मेस्सी पहिलो पटक सँगै खेल्दै थिए।
मेस्सी पिएसजी पुगेपछि एम्बाप्पे असन्तुष्ट रहेको खबर पनि आएका थिए। मेस्सी पिएसजी आएपछि आफू छायाँमा पर्ने र आफ्नो भूमिका कम रहन सक्ने भएका कारण एम्बाप्पे असन्तुष्ट रहेको बताइएको थियो।
तर पछिल्लो अवस्थालाई हेर्ने हो भने त्यस्तो केहि पनि देखिँदैन। मेस्सी र एम्बाप्पे बीच राम्रै तालमेल मिलिरहेको छ भने एम्बाप्पे मेस्सीको आगमनलाई लिएर असन्तुष्ट पनि देखिँदैनन्।
पिएसजी पुगेपछि मेस्सीले जति पनि गोल गरेका छन् एम्बाप्पेकै संलग्नतामा गरेका छन्। च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटी विरुद्ध मेस्सीलग गोल गर्दा एम्बाप्पेले नै पास दिएका थिए। बुधबार आरबी लाइप्जिग विरुद्धको खेलमा पनि एम्बाप्पेकै पासमा मेस्सीले गोल गर्न सके। एमबाप्पेले दिएको पासमा मेस्सीको प्रहार पोस्टमा लागेर फर्किएको अवस्थामा मेस्सी उक्त रिबाउन्डलाई गोलमा परिणत गराएका थिए।
खेलको ७४ औं मिनेटमा पिएसजीले पेनाल्टी पाउँदा पनि मेस्सी र एम्बाप्पे बीच राम्रो समझदारी देखियो। एम्बाप्पेले मेस्सीलाई पेनाल्टी प्रहार गर्न दिन क्लबका अन्य खेलाडीहरुलाई इशारा गरे। त्यसपछि मेस्सीले बललाई सजिलै गोल पोस्ट देखाए।
पिएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी प्राप्त गर्यो । तर ह्याट्रिकमा रहेका मेस्सीले उक्त प्रहार एम्बापपेलाई दिए । एमबाप्पेको पेनाल्टी प्रहार आकासियो।
खेलपछि एम्बाप्पेले विश्वकै उत्कृष्ट खेलाडी मेस्सीलाई पेनाल्टी सम्मानस्वरूप दिइएको बताए। उनले भने,”मैले मेस्सीलाई पेनाल्टी लिन किन दिएँ? सामान्य। यो सम्मान हो। उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्।”
मेस्सी आफूहरुको टीममा हुनु आफूहरुका लागि गर्वको कुरा रहेको एम्बाप्पेले बताए। मेस्सीले ह्याट्रिक गर्न छाडेर पेनाल्टी आफूलाई दिँदा पनि गोल गर्न नसकेको एम्बाप्पेको भनाई छ।
“त्यहाँ एक पेनाल्टी थियो, उनले पेनाल्टी लिए लिए र गोल गरे।”,एम्बाप्पेले भने,”दोस्रो, उनी मलाई दिन चाहन्थे र तर मैले गोल गर्न सकिन।”