२०२१ ब्यालुन डी’ओर अवार्डको लागि दौड तातीदै छ, फुटबलका कुलीन सुपरस्टारहरु पिचमा आफ्नो सर्वश्रेष्ठ खेल देखाउन प्रयास गर्दैछन्। अवार्डका लागि ३० मनोनयन सार्वजनिक भइसकेको छ। २९ नोभेम्बरमा पेरिसमा हुने एक कार्यक्रममा यस वर्षको विजेता घोषित हुनेछ।

हाल फुटबल स्टार, विशेषज्ञहरु उक्त अवार्डका लागि आफ्नो दावेदार रोज्न पछि परेका छैनन्। यसैबीच बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकले आफ्नो पूर्व सहकर्मी लियोनल मेस्सीलाई आफ्नो दावेदारका रूपमा छनौट गरेका छन्। ३४ वर्षीय डिफेन्डले भने,”ब्यालुन डी ओर? यदि विजेता मापदण्ड अनुसार भोट गरेर छान्ने हो भने, मेस्सी हुन्। यदि संसार कै सर्वश्रेष्ठ खेलाडीलाई दिने भए पनि मेस्सी नै हुन्।”

पिक मात्र एक मात्र होइन जो मेस्सी यस वर्ष ब्यालुन डी ओर जित्न योग्य छन् भन्ने विश्वास गर्छन्। बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले अर्जेन्टिनालाई २०२१ कोपा अमेरिकामा सफलता दिलाएपछि केहि समयमा नै मेस्सीले प्रतिष्ठित पुरस्कार जित्नु पर्ने आफ्मो धारणा राखेका थिए। “मेस्सीले बारम्बार आफू सर्वश्रेष्ठ हो भनेर प्रमाणित गरेका छन्। मलाई थाहा छ उनी कोपा अमेरिका जित्न चाहन्थे र उनले अन्तिममा त्यो काम गरेर देखाए। मेस्सी उत्कृष्ट सिजन पछि ब्यालुन डी’ओरका लागि प्रमुख उम्मेदवार हुन्,” कोम्यानले भने।

त्यसै गरी, पेरिस सेन्ट जर्मेनका प्रशिक्षक मौरिसियो पोचेटिनो विश्वास गर्छन् कि यस वर्षको ब्यालुन डी ओर मेस्सी कै पोल्टामा पर्नुपर्छ। गत हप्ता एक अन्तर्वार्तामा उनले भने,”यो वर्षको ब्यालुन डी ओर बिना कुनै शंका मेस्सीले जित्नुपर्छ। यदि म मेस्सीको प्रशिक्षक नभएको भएपनि यहि भन्थें। म मेरो मनबाट नै भन्दै छु। मलाई जे लाग्छ म त्यहि मात्र बोल्छु।”

