एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पे रियल म्याड्रिडका मूख्य टार्गेट रहेकोमा कुनै शंका छैन। एम्बाप्पेलाई भित्रयाउन रियलले सक्दो प्रयास गर्ने छनक दिसकेको छ। गएको ट्रान्सफर विन्डोमा रियलले एम्बाप्पेलाई भित्र्याउन धेरै नै बल लगाएको थियो। रियल एम्बाप्पेका लागि २ सय मिलियन युरो सम्म तिर्न तयार भएको थियो। तर पिएसजीले सबै प्रस्ताव अस्विकार गरेको थियो।
पिएसजीको प्राथमिकता एम्बाप्पेलाई जसरी पनि क्लबमा अड्याउने छ भने रियलको प्राथमिकता आफ्नो क्लबमा भित्र्याउने छ। पिएसजीले एम्बाप्पेलाई अड्याउन आकर्षक भन्दा आकर्षक प्रस्ताव गरिरहेको छ। गएको केहि समय देखि एम्बाप्पे पिएसजीमा रहन सक्ने चर्चा पनि शुरु भएको छ। एम्बाप्पे आउने केहि सिजन पिएसजीमै रहने र त्यसपछि मात्र रियल म्याड्रिडमा जाने सम्भावना रहेको फ्रेन्च मिडियाहरु दावी गर्छन्।
यदि एम्बाप्पे पिएसजीमा बस्न तयार भएको खण्डमा रियल नयाँ खेलाडीको खोजिमा उत्रिने पक्का जस्तै छ। हालको अवस्थालाई हेर्दा एम्बाप्पे पिएसजीमै रहेको खण्डमा निम्न खेलाडीहरु प्राथमिकतामा रहनेछन्।
एर्लिङ हालाण्ड

आउने दशकमा बोरुसिया डर्टमण्डका नर्वेली युवा स्टार हालाण्ड अहिले विश्वभर तरंग पैदा गरिरहेका छन्। डर्टमण्ड पुगेयता हालाण्डले जुन स्तरको खेल प्रदर्शन गरिरहेका छन् त्यसले युरोपका सबै ठूला क्लबको ध्यान तानिरहेको छ। हालाण्ड रियलको पनि प्राथमिकतामा छन्। आउने वर्ष हालाण्डको रिलिज कल्ज सक्रिय हुँदैछ।
त्यस्तो हुँदा हालाण्ड ७५ मिलियन युरोमा उपलब्ध हुनेछन्। रिलिज कल्ज अलि कम भएपनि हालाण्डको पक्षबाट उच्च पारिश्रमिक माग हुने स्पष्ट भैसकेको छ। त्यस्तोमा हालाण्डलाई भित्रयाउन चाहने क्लबले वार्षिक ५० मिलियन युरो सम्म पारिश्रमिक तिर्नुपर्नेछ। एम्बाप्पे पिएसजीमै रहेको खण्डमा रियल उच्च पारिश्रमिक तिरेर भएपनि हालाण्डलाई भित्र्याउने पक्षमा हुनेछ।
भिक्टर ओसिमहेन

इटालियन सिरी’ए’ क्लब नापोलीका फरवार्ड भिक्टर ओसिमहेनले नयाँ सिजन शुरु भएयता धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। उनी उच्च लयमा देखिएका छन्। भिक्टर ओसिमहेन उच्च लयमा रहेकै कारण नापोलीले नयाँ सिजनमा अहिले सम्म हार बेहोरेको छैन। नापोलीका लागि उनले अहिले सम्म ८ गोल गरिसकेका छन् भने १ असिस्ट दिएका छन्।
एम्बाप्पे र हालाण्ड जति चर्चामा नआएपनि उनी भविष्यमा राम्रो स्ट्राइकरको रुपमा उदाउने संकेत देखिसकेको छ। हालाण्ड र एम्बाप्पे जति महँगो नपर्ने भएका कारण पनि रियलले भिक्टर ओसिमहेनलाई भित्र्याउने प्रयास गर्ने स्पेनिस मिडियाहरु बताउँछन्।
मोहम्मद सलाह

सलाह गएको ४ सिजन देखि उच्च लयमा छन्। लिभरपुलको पछिल्लो सफलतामा सलाहको मूख्य भूमिका रह्यो। लिभरपुलले च्याम्पियन्स लिग जित्दा होस् अथवा लिभरपुल प्रिमियर लिग च्याम्पियन बन्दा सलाहको उल्लेख्य भूमिका रह्यो। गएको सिजन लिभरपुल कम्जोर हुँदा पनि सलाहले उच्च प्रदर्शन गरे।
नयाँ सिजन शुरु भएपनि भने सलाह झनै घातक स्ट्राइकरको रुपमा अगाडी आएका छन्। हालको समयमा उनी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि उत्कृष्ट रहेको चर्चा शुरु भएको छ। गएको केहि सिजन देखि उच्च लयमा रहेका सलाह जस्तो खेलाडीलाई रियल भित्रयाउन चाहन्छ। यदि एम्बाप्पे भित्र्याउन सम्भव नभएको खण्डमा रियलले सलाह भित्रयाउन प्रयास गर्नेछ।

